पहिरोका कारण दुई हप्तादेखि बन्द गुल्मीको रिडी-रुद्रवेणी सडक हिजो बेलुकादेखि खुलेको छ ।
रुरु क्षेत्र गाउँपालिका एक विष्णुपञ्जर नजिकै सडकमाथिबाट चट्टानसहित खसेको ठूलो पहिरो हटाएपछि सडक खुलेको इलाका प्रहरी कार्यालय रिडीका प्रहरी सहायक निरीक्षक शालिकराम थापाले जानकारी दिनुभयो । पहिरोले दुई सय मिटरभन्दा बढी सडक पुरेकोे थियो । पटक-पटक सुख्खा पहिरो खस्ने क्रम नरोकिएपछि पहिरो पन्छाउन समय लागेको उहाँले बताउनुभयो ।
सडक खुलाउन रिडी र रुद्रवेणी दुवैतर्फबाट चार दिनसम्म जेसीभी र एस्काभेटर परिचालन गरिएको थियो । गुल्मीको रिडी, रुद्रवेणी, वामीटक्सार हुँदै बाग्लुङका बुर्तिवाङ्गसम्म गाडी चल्ने गरेका छन् । बाटो बन्द हुँदा आवतजावत र खाद्यान्न ढुवानीमा समस्या परेको थियो । चाडपर्वका लागि आवश्यक खाद्यान्नसहित गाडी बीच बाटोमै रोकिएका थिए । सडक खुलेपछि दुवै क्षेत्रमा रोकिएका गाडीहरु गन्तव्यतर्फ लागेका छन् ।
रिडी-रुद्रवेणी सडक जिल्लामा सबैभन्दा धेरै गाडी चल्ने व्यस्त सडक अन्तर्गत पर्छ।
प्रतिक्रिया