कपिलवस्तु पौष ०९
कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा सर्जरी सुविधा सहितको जस्मिन हस्पिटल प्रा.लि. संचालनमा आएको छ । हस्पिटल संचालनमा आए संगै अप्रेसनको लागी बुटवल काठमाण्डौ जानु पर्ने स्थानियहरुको बाध्यता हटेको छ । हस्पिटलको उद्घाटन गर्दै शिवराज नगरपालिका नगरप्रमुख नेत्रराज अधिकारीले नगरिकको स्वास्थ्य प्रति सहज र सस्तो सेवा प्रदान गर्न संचालक टिमलाई आग्रह गर्नुभयो ।
नगरिकको प्रत्यक्ष जीवन संग जोडिएको स्वास्थ्यलाई सुलभ र सहज बनाउन हस्पिटलले पनि भूमिका खेल्ने प्रति प्रमुख अधिकारीले विश्वास व्यक्त गर्नु भयो । नगरका नागरिक स्वास्थ्य सुविधा लिन बुटवल काठमाण्डौ जानु पर्ने जसको कारण ठूलो धन खर्च हुने हुदाँ नगरमा नै सर्जरीको समेत सुविधा सहितको हस्पिटल संचालनमा आए पछि समय र पैसाको बचत संगै गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकिने बताउनु भयो ।
कार्यक्रममा हस्पिटलका व्यवस्थापक सकिल अहमद खानले १५ सैयाको अपरेशन कक्ष सहितको हस्पिटल संचालनमा ल्याएकोले अब सल्यक्रियाका लागी विरामीहरुले बाहिर जानु नपर्ने बताउनु भयो । हामी विरामीलाई सुपथ मूल्यमा गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यमा छौ ,खानले भन्नु भयो । हस्पिटलमा २४ सै घण्टा मेडिकल अफिसर द्धारा स्वास्थ्य सेवा तथा परामर्श, प्रत्येक हप्ताको शनिबार विभिन्न रोग विषेशज्ञहरुबाट उपचार तथा सल्यक्रिया सेवा प्रदान गरिने खानले बताउनु भयो ।
अब्दुलहक खानको अध्यक्षता रहेको कार्यक्रममा नगर प्रमुख नेत्रराज अधिकारीले दिप प्रज्वालन र रिबन काटेर हस्पिटलको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा शिवराज स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराई,शिवराज नगरपालिका सामाजिक शाखा संयोजक सिबी गहतराज लगायतले नगरिकलाई सुलभ तथा सहज तबरबाट स्वास्थ्य सेवा प्रवाह गर्न हस्पिटल संचालक टिमलाई आग्रह गर्नु भयो । उद्घाटन कै दिन हस्पिटलले ३० जना विरामीलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गरेको डा. रोशनी नेपालीले बताउनु भयो । कार्यक्रममा डा. अमित पाण्डे, डा. अब्दुल अलि, डा. फैजान खान,डा. मन्जुर अहमद खा, डा. वसिउल्ला ,स्थानिय समाजसेवी,टोपलाल पोखरेल,पारस पाण्डे, रेडियो शिवराजका अध्यक्ष सुभाषचन्द्र जयसवाल,जिआउर रहमान,महोम्द मुस्तफा खान, केशवराज न्यौपाने लगायत स्थानिय व्यापारी, बुद्धिजिबीहरुको को सहभागिता रहेको थियो ।
प्रतिक्रिया