चन्द्रौटा,२७ वैशाख
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले योजनाका फाइल बोकेर मन्त्रालय नआउन स्थानीय सरकार प्रमुखलाई आग्रह गरेका छन् । नेपाल नगरपालिका सङ्घ लुम्बिनी प्रदेशले चन्द्रौटा गरेको अन्तरक्रियामा मुख्यमन्त्री महराले स्थानीय तहले प्रदेश स्तरका योजना छनोट गरी प्रदेश स्तरीय कार्यालय पठाउनुपर्ने बताउनुभयो ।
विकास निर्माणका कार्यहरूमा गुणस्तरीयता र निर्धारित समयको ख्याल गरी काम गर्न स्थानीय तहलाई आग्रह गर्नुभयो । तीन वटै सरकार मिलेर काम गरेमा लक्ष्यमा पुग्ने महराले बताउनुभयो । समृद्ध प्रदेश बनाउने उद्देश्यलाई स्थानीय प्रदेश र केन्द्र मिलेर काम गर्नुपर्ने तर्क राख्नुभयो ।
कार्यक्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. सुमित्रा श्रेष्ठले जनताको पैसा दुरुपयोग गर्ने अधिकार कसैलाई नभएको बताउनुभयो । विकास निर्माणको सवालमा मेसिनको प्रयोग हुने संरचनामा उपभोक्ता समितिलाई जिम्मा दिन नहुने जनाउनुभयो । अख्तियारले गलत काम गर्नेलाई नछोड्ने भएकोले नियमानुसार काम गरेमा आत्तिइहाल्नु पर्ने अवस्था नरहने जिकिर गर्नुभयो ।
नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीम प्रसाद ढुगंनाले वित्तीय समानिकरणको रकम घटाएमा ७५३ स्थानीय तहले सिहदरवार घेर्ने चेतावनी दिनुभयो । स्थानीय तहको एकल अधिकार माथि सङ्घ र प्रदेशले हस्तक्षेप गरेको आरोप लगाएका छन् । उनले स्थानीय तहका प्रमुखहरू मुख्यमन्त्री र प्रधानमन्त्री कार्यालयमा योजनाका फाइलमा बोकेर जानुपर्ने बाध्यता रहेको बताउनुभयो ।
नेपाल नगरपालिका सङ्घ लुम्बिनी प्रदेशका संयोजक खिलध्वज पन्थीले निर्वाचनमा पराजित भएका उम्मेदवारले अख्तियार प्रयोग गरी स्थानीय तहहरूलाई दुख दिने गरेकोले बेनामे उजुरी नियम अन्त्य गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया