आमाको भनाइ थियो, “भो नजा माइला, यहीँ पढ, यहीँ केही गर।” बाले पनि त्यही कुरा जोड दिनुहुन्थ्यो, “पर्दैन विदेश जान, यही लोकसेवा लड। दुःख-सुख जे हुन्छ, मिलेर सहनुपर्छ। जस्तोसुकै चुनौती आए पनि मिलेर लड्नुपर्छ।” तर गाउँभरि विदेशिने लहर चलेको थियो। साथीभाइले पासपोर्ट बनाउन थाले, म पनि पछि परिनँ। मनमनै सोच्थेँ—पासपोर्ट बन्यो, अब सबै ठीक हुन्छ।
आकाशमा उड्ने प्लेन देख्दा मनमा अनौठो खुसी हुन्थ्यो। आफू पनि त्यही प्लेनमा बसेर नयाँ देश उड्ने कल्पना गर्थेँ। पासपोर्ट बनिसक्यो, घरमा जसो तसो आमाबाबुलाई मनाएँ। विदेश जानका लागि चाहिने खर्च सबै ऋण गरेर परिवारले जोहो गरिदिए।
अब त विदेश पुगेर मात्र सुखसयल आउने विश्वास मनमा थियो। ऋण तिरिन्छ, परिवारको जिन्दगी सुध्रिन्छ भन्ने अठोटले विदेश जाने तयारीमा जुटेँ। तर भिसा पाउन सजिलो थिएन। दुई वर्षसम्म भिसा लगाउनका लागि कति ठाउँ धाएँ, कति प्रयास गरेँ। अन्ततः भिसा लाग्यो।
विदेश जानु अघि ममाथि सपनाको संसारमा पाइला राख्ने उत्साह थियो। आकाशमा उड्न पाइने, ठूलो शहरमा बस्न पाइने सोच्थेँ। तर जब त्यो सपनाको सहरमा पाइला टेकें, यथार्थ अर्कै थियो। जहाजमा उड्न रमाइलो लाग्थ्यो, तर त्यही जहाजबाट ओर्लेर काम गर्नुपर्दा जीवन कठिन लाग्यो।
घरमा हुँदा सपना देख्थेँ, विदेश पुगेर खुसीहरू बटुल्छु। तर विदेश पुगेपछि थाहा भयो, खुसी त कतै हराइसकेको रहेछ। घर जानलाई पैसा खोज्नुपर्ने अवस्था आयो। यहाँ हुन्जेल घर फर्कने चाहना अनि घर हुँदा विदेश जाने रहर।
तर अठोट भने अझै उस्तै छ। “चिन्ता नगर्नु, आमा। एकदिन खुसीको पोको बोकेर म घर फर्किन्छु,” भनी मनलाई सम्झाइरहेको छु। विदेश आउने र नआउने सबैका कथा फरक-फरक छन्, तर व्यथा भने उस्तै।
न विदेश आएका खुसी छन्, न आउन नपाएकाहरू।
लेखक – दिपेन्द्र केसि ,कपिलवस्तु ( हाल रोमनिया)
प्रतिक्रिया