माधव बेल्वासे
कपिलवस्तु
बिजयनगर गाउँपालिकामा शौचालय प्रयोगमा चुनौती देखिएको छ । शौचालय निर्माण भएपनि प्रयोग नभएपछि पालिकालाई टाउको दुखाई विषय बनेको छ । शुक्रवार गाउँपालिकाले एक बृहत अन्तरक्रिया कार्यक्रम आयोजना गरी सरसफाइको महत्वलाई प्रोत्साहन गरेको छ । सरसफाइलाई अझ प्रभावकारी बनाउन र स्थानीयवासीमा यसको महत्त्वबारे जनचेतना फैलाउने कार्यक्रम भएको हो । कार्यक्रममा, पालिकाले अघिल्लो वर्षदेखि हालसम्म गरेको सरसफाइका विविध गतिविधिहरूको समीक्षा गरेको छ र भविष्यमा गर्ने योजनाहरू पनि सार्वजनिक गरेको छ ।
गाउँपालिकामा अहिले कुल ६,८१० घरधुरी छन्, जसमा ५,०७४ घरधुरीमा शौचालय निर्माण गरिएको छ । निर्माण भएका शौचालय मध्ये १,८४५ घरधुरीमा शौचालयको प्रयोग भइरहेको छैन, जुन ठूलो चुनौतीको रूपमा देखा परेको छ । गाउँपालिका लगायत अन्य ंसंस्थाहरुको सहयोग शौचालय निर्माण भएपनि शौचालय प्रयोग भने कमि रहेको वास संयोजक अर्जुन बेल्वासेले बताउनुभयो । वडागत तथ्याकं सार्वजनिक गर्दै संयोजक बेल्वासेले शौचालयमा च्याउ,फुस लगायत विभिन्न सामाग्री राख्ने गरेका तस्विरहरु प्रस्तुत गर्नुभएको थियो ।
गाउँपालिका अध्यक्ष गोपाल थापाले शौचालय निर्माण भए तापनि प्रयोगमा नआउने अवस्थालाई गम्भीर चुनौतीका रूपमा लिँदै यसलाई समाधान गर्न सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो । उहाँले भने, “स्थानीयवासीहरूको सहयोग बिना यो समस्या समाधान गर्न सकिने छैन । सरसफाइ अभावले विभिन्न प्रकारका रोगको समस्या निम्त्याउने हुँदा यसलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ।“
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले गाउँपालिकाको सरसफाइ अभियानलाई अझ सशक्त बनाउन विद्यालय र टोल विकास संस्थाहरूको भूमिकालाई महत्वपूर्ण रहेको बताउनुभयो । “आगामी दिनमा उत्कृष्ट टोललाई ’टोल विकास रनिङ शिल्ड’ प्रदान गर्ने योजना बनाएका छौं उहाँले भन्नुभयो यसले टोलहरूको प्रतिस्पर्धात्मक भावना र सरसफाइमा अझै बढी ध्यान आकर्षित गर्नेछ।“
यसैगरी, स्थानीय नेता तेजप्रसाद पौडेलले उद्योगहरूमा काम गर्ने कर्मचारीका लागि शौचालय व्यवस्थापनको आवश्यकता रहेकोमा जोड दिनुभयो। उहाँले भने, “उद्योग क्षेत्रमा काम गर्ने मानिसहरूको लागि स्वच्छता र शौचालयको उचित व्यवस्था अनिवार्य छ। यसमा सुधार ल्याउनुपर्ने कुरा स्पष्ट छ।“
कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधिहरूले पनि सरसफाइ अभियानलाई तीव्रता दिने सुझाव दिएका थिए। थर्कबहादुर खगाहले टोल विकास संस्थाहरूलाई अझ प्रभावकारी बनाउन र सरसफाइको अभियानलाई जनस्तरमा पु–याउन सघाउन आग्रह गर्नुभयो । यस कार्यक्रमले बिजयनगर गाउँपालिकामा सरसफाइको महत्त्वप्रति जनचेतना फैलाउने र समुदायमा सरसफाइको दिशा मा थप पहल गर्ने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया