
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री भुमिश्वर ढकालले आफ्नो मन्त्रालयमा महिलाको सहभागिता सुनिश्चित गरिएको बताउनुभएको छ।
कपिलवस्तुको चन्द्रौटामा आयोजित दलित महिला महासंघ नेपाल द्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्रालय सम्हालेपछि हरेक क्षेत्रमा महिलाको अधिकारलाई संस्थागत गर्दै सहभागितामा विशेष जोड दिएको बताउनुभयो।
संसदमा समानुपातिक र प्रत्यक्ष निर्वाचित सांसदबीचको विभेदबारे छलफल भइरहेको उल्लेख गर्दै, उहाँले यस्तो भेदभाव अन्त्य गर्दै समाजलाई सहज रूपमा अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य भगवती घिमिरेले महिला सहभागितासहितका नीति निर्माण भए पनि कार्यान्वयन फितलो रहेको बताउँदै, कतिपय कार्यक्रम कार्यान्वयन चरणमा पुगे पनि हालको सरकारले तिनलाई अघि बढाउन नसकेको गुनासो गर्नुभयो।
त्यसैगरी, प्रदेश सभा सदस्य निर्मला चौधरीले महिला मैत्री कार्यक्रम निर्माणमा सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा दलित महिला महासंघकी अध्यक्ष विमला बिकले अन्य मन्त्रालयहरूमा भन्दा भौतिक पूर्वाधार मन्त्रालयमा महिलाको सहभागिता उल्लेखनीय देखिएको बताउनुभयो। महासंघले ६ महिनासम्म विभिन्न कार्यक्रम सञ्चालन गरी महिलाको सहभागिता सुनिश्चित गर्न केन्द्रित रहँदै आएको उहाँले जानकारी गराउनुभयो।
उक्त अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका मन्त्री भुमिश्वर ढकाल प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा प्रदेश सभा सदस्यहरू, सचिवज्यूहरू, सञ्चारकर्मीहरू लगायतको उपस्थिति रहेको कार्यक्रम सचालन मिना परियारले गर्नुभएको थियो । प्रदेश सरकारको योजना तथा बजेट तर्जुमा प्रक्रियामा महिलाको सहभागिताका सन्दर्भमा गहन छलफल गरिएको थियो।


प्रतिक्रिया