कपिलवस्तु,
उमेरले ५० वर्ष पुगेकी ठगकला पन्थी हावा हुरी चल्दा र पानी परेको रात निदाउँन सक्दैनथिइन । पानी पर्यो भने छाना चुहिन्थ्यो, हावा चल्यो भने खरको छानो उड्ने डरले कैयौँ रात उनको अनिदो नै बितेको छ । “दिनमा त बरु हेर्न सकिन्छ, रातमा सारै डर लाग्थ्यो,“ पन्थीले आँखा रसाउदै विगतको पीडा पोखिन् ।
तर, अहिले उनको पीडाको केही हदसम्म समाधान भएको छ । शिवराज नगरपालिका वडा नं. ३ ले गरिब तथा विपन्न ४५ घरपरिवारलाई टिन वितरण गरेपछि पन्थी मात्र होइन, दर्जनौँ विपन्न परिवारका सदस्यहरूको मुहारमा राहतको चमक देखिएको छ । स्थानीय सरकारले सामाजिक उत्तरदायित्व बहन गर्दै सुरक्षित आवास निर्माणका लागि टिन वितरण गरेको हो । यस वर्षको टिन वितरण पश्चात वडा खरको छानो मुक्त वडा बन्ने निश्चित भएको छ ।
वडाले निष्पक्ष छनोट प्रक्रिया अपनाएर साँच्चै आवश्यक परिवारहरूको पहिचान गरी उनीहरूलाई सहयोग प्रदान गरेको वडा अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो । “हामीले यो कार्यक्रम गरिबीका कारण उचित आवास निर्माण गर्न नसकेका परिवारहरूलाई मद्दत गर्ने उद्देश्यले ल्याएका हौं, सापकोटा भन्नु भयो, “सुरक्षित आवास जनताको मौलिक अधिकार हो, र हामी त्यसलाई सुनिश्चित गर्न प्रयासरत छौं ” ।
टिन पाउने सूचीमा परेका तर अझै नलिएका लाभग्राहीहरूलाई छिटोभन्दा छिटो आफ्नो घर निर्माण गरी वडा कार्यालयमा सम्पर्क गर्न सापकोटाले आग्रह गर्नुभयो । वडामा रहेका फुसका १८० घरधुर मध्ये १७० घरधुरीमा जस्तापाता लगाइएको सापकोटाको भनाई छ । वडा कार्यालयबाट टिन पाएका लाभग्राहीहरू खुशी देखिएका छन् । “अब कम्तीमा पानी चुहिने र हावाले छानो उडाउने डर हट्यो सोनवर्षीे छागुर हरिजनले भने “हावाहुरीको समयमा आगोलागिको ठुलो डर थियो, अब त्यो डर हराएको छ, ।
यस किसिमका सामाजिक कार्यहरूले विपन्न समुदायलाई आत्मनिर्भर बनाउन प्रेरित गर्ने विश्वास स्थानीय बासिन्दा, संघ संस्था, र सामाजिक अभियन्ताहरूले व्यक्त गरेका छन् । वडा अध्यक्ष सापकोटाका अनुसार,आर्थिक अवस्था कमजोर भएका नागरिकहरूको शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा पनि स्थानीय सरकारको ध्यान केन्द्रित रहेको छ ।
वडाले आगामी दिनमा पनि विपन्न परिवारका लागि अन्य राहत तथा पुनस्र्थापनासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ । टिन वितरण कार्यक्रमले शिवराज नगरपालिका वडा नं. ३ का गरिब परिवारहरूलाई सुरक्षित आवास निर्माण गर्न प्रत्यक्ष राहत प्रदान गरेको छ । स्थानीय सरकार र समुदायबीचको सहकार्य अझ मजबुत बनाउन यस्ता कल्याणकारी योजनाहरूलाई निरन्तरता दिन आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् ।
प्रतिक्रिया