दिपक के.सी.
बैशाख १९
मानिसको सबै भन्दा ठूलो धन भनेकै स्वस्थ शरिर हो । रोग लाग्दा र समयमा रोगको पहिचान र निदान नहुदाँ अकालमै ज्यान गुमाउनु पर्ने हुन सक्छ, त्यसैले नागरिकहरुको स्वास्थ्यलाई नगरपालिकाले विशेष ध्यान दिएको र स्वास्थ्य प्रति गम्भिर रहेको कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाहले बताउनु भएको छ । स्वस्थ नागरिक स्वस्थ नगरपालिका बनाउनका लागी नगरले स्वास्थ्यका क्षेत्रमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको समेत प्रमुख शाहले बताउनु भयो । शिवराज अस्पताल बहादुरगंजमा आयोजित मुटु तथा मृगौला निशुल्क स्वास्थ्य शिबिरको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाहले यस्तो बताउनु भएको हो ।
नागरिकको स्वास्थ्यका लागी पालिकाले शिवराज अस्पतालमा विशेषज्ञ डाक्टरको सेवा पनि सुरु गरेको उहाँले बताउनु भयो ।
नगरका नागरिकहरु स्वास्थ्य चेकजाँचका लागी अब भारत र बुटवल काठमाण्डौं धाउन नपर्ने समेत मेयर शाहले जिकिर गर्नु भयो । स्वास्थ्य क्षेत्रमा पालिकाले राम्रो पहल र प्रयास गरिरहेको तर संघ र प्रदेशले स्वास्थ्य चौकीहरुमा उपलब्ध गराउनु पर्ने औषधीहरु समयमा नै उपलब्ध नगराउदाँ समस्या हुने गरेको उहाँले बताउनु भयो । “पालिकाले दिने औषधी हामी समयमा नै स्वास्थ्य चौकीमा पुराउछौं,तर संघ र प्रदेशबाट पाउनु पर्ने औषधी समयमा नै उपलब्ध नहुदाँ औषधी कमी हुने गरेको छ ” मेयर शाहले भन्नु भयो । शिविरमा त्रि.वि. शिक्षण अस्पतालका प्रोफेसर.डाक्टरहरुबाट स्वास्थ्य चेक जाँच र उपचार हुने भएकोले सम्पूर्णलाई मौकाको फाइदा लिनुपर्ने शाहले बताउनु भयो । शिविरमा स्वास्थ्य चेकजाँच गर्न आउनेहरुका लागी पालिकाले छिमेकी पालिका शिवराज, महारागंज,विजयनगरबाट बस सेवा समेत उपलब्ध गराएको नगर प्रमुख शाहले बताउनु भयो ।
कृष्णनगर नगरपालिकाको आयोजना र मृगौला तथा प्रत्यारोपण विभाग त्रि.वि. शिक्षण अस्पताल, सेभ द हर्ट, मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको प्राविधीक सहयोगमा शिवराज अस्पताल बहादुरगंजमा २ दिने निशुल्क स्वास्थ्य शिविर संचालन भएको हो । शिविरबाट यस क्षेत्रका नागरिकहरु लाभान्वित हुने कार्यक्रमका प्रमुख अतिथि पूर्व सांसद अभिषेक प्रताप शाहले बताउनु भयो । विशेष गरी मुटुरोगी तथा मृगौला रोगिहरुको पहिचान र उपचारका लागी शिविर फलदायी हुने शाहले बताउनु भयो । नगरपालिकाले नागरिकको स्वास्थ्य क्षेत्रमा गरेको प्रयास र काम स्वागत योग्य रहेको उहाँले बताउनु भयो ।
शिविरमा चेकजाँच भएका विरामीहरुलाई नगरपालिकाले निशुल्क औषधी उपलब्ध गराउने प्रमुख प्रशासकिय अधिकृत खेमराज देवकोटाले बताउनु भयो । नागरिकको स्वास्थ्यलाई ध्यानमा राखि पालिकाले शिविर संचालन गरेकोले शिविरमा स्वास्थ्य सेवाको लाभ लिनु पर्ने बताउनु भयो ।
कार्यक्रममा सिनियर कार्डियो सर्जन एसोसियट प्रोफेसर डाक्टर अनिल भट्टराईले शिविरमा मुटुको इसिजि,इको गरिने र मृगौलाको पनि जाँच गरिने बताउनु भयो । मुटुको समस्या भएका विरामीहरुका लागी औषधी संगै जटिल विरामीको ओपन हर्ट सर्जरीको लागी समेत सहयोग गरिने उहाँले बताउनु भयो । शिविरमा काठमाण्डौ, बुटवल भैरहवाका सर्जन, सिनियर कार्डियोलोजिस्ट, मेडिकल अफिसर,स्टाफ नर्स,नर्सिङ्ग अफिसर,फार्मासिस्ट, टेक्निसियन, न्यूरोलोजिष्ट गरि करिब २८ जनाको मेडिकल टिम रहेको बताउनु भयो । शिविरमा धेरै भन्दा धेरै नागरिकहरु सहभागि भइ स्वास्थ्य चेकजाँच सेवा लिन समेत प्रो. डा. भट्टराईले अनुरोध गर्नु भयो ।
प्रतिक्रिया