Developed By Kuldeep Sharma

७ महिना अगाडि

गाउँमा सडक कालोपत्रे भएपछि जनप्रतिनिधिहरुलाई सम्मान

माधव बेल्वासे
कपिलवस्तु
शिवराज नगरपालिका वडा नम्बर १ र ३ अन्तर्गत पर्ने बलुहवडाडा सडक कालोपत्रे भएपछि स्थानीयवासीहरूमा खुसी छाएको छ । लुम्बिनी प्रदेश सरकारको सहयोगमा सम्पन्न यस सडकको कालोपत्रेले सर्वसाधारणको दैनिक आवागमन सहज र सुरक्षित बनाएको भन्दै स्थानीयहरूले नगरका जनप्रतिनिधिहरूलाई विशेष सम्मान गरेका छन् । प्रदेश सभा सदस्य अर्जुन कुमार केसीको विशेष कारणले उपस्थित नभएपनि अन्य प्रतिनिधिकरुलाई सम्मान गरिएको हो ।
विहीवार एक विशेष कार्यक्रमको आयोजना गर्दै बलुहवडाडा सडक कालोपत्रे सहजिकरण समितिले नगर प्रमुख अजय थापा, उपप्रमुख शिवकुमारी थारु, वडा नम्बर १ का अध्यक्ष खिम विक्रम केसी, वडा नम्बर ३ का अध्यक्ष टेकलाल सापकोटा लगायत वडा सदस्यहरूलाई खादा ओढाएर सम्मान प्रकट गरेका हुन्।
कार्यक्रममा नगर प्रमुख अजय थापाले सडक निर्माणको क्रममा स्थानीयवासीहरूको जागरुकता र सहकार्य महत्वपूर्ण रहेको बताए । “पालिका भित्र हुने सबै विकास निर्माणका कामहरू गुणस्तरीय बनाउने हाम्रो प्रतिबद्धता हो,” थापाले भने । सडक बने पनि नाली नबन्दा वर्षायाममा समस्या आउन सक्ने भएकाले पालिकाबाट सक्दो सहयोग गरेर नाली निर्माणमा पनि ध्यान दिने प्रतिबद्धता जनाए । नगर उपप्रमुख शिवकुमारी थारुले बलुहवडाडा सडक विगतको स्मरण गर्दै अहिलेको कालोपत्रे सडकले नागरिकहरूलाई सहज आवागमन साथै जीवनशैलीमै सकारात्मक प्रभाव पारेको बताइन । नाली निर्माणको विषयमा उठेका मागप्रति प्रतिक्रिया दिँदै उनले आफु सधैं सकारात्मक साथ दिन तयार रहेको बताइन्।
वडा नम्बर ३ का अध्यक्ष टेकलाल सापकोटाले सडक प्रदेश सरकारको सहयोगमा निर्माण भएकोमा आभार व्यक्त गर्दै अब यसलाई दीर्घकालीन रूपमा सुरक्षित राख्न थप संरचनात्मक विकास आवश्यक रहेको बताए। वडा नम्बर १ का अध्यक्ष खिम विक्रम केसीले निर्माणको सम्पूर्ण प्रक्रियामा गुणस्तरीयताको ख्याल राखिएको जानकारी गराउँदै आगामी योजनाहरूमा पनि जनताको सहभागिताले अझ राम्रो काम सम्भव हुने बताए।
स्थानीय जनक रावत, बावुराम खनाल लगायतले अहिले सडक बनेपनि नालीको अभावमा वर्षामा पानी जम्ने खतरा बढ्ने भन्दै छिटोभन्दा छिटो नाली निर्माण गर्न माग गरेका छन्। उनीहरूले विकासका कामहरूमा समयमै बजेट विनियोजन र कार्यान्वयन गर्न स्थानीय सरकारसँग आग्रह गरेका छन् । शिवपुर टोल देखि गणेश पथ बलुहवाडाडा जोड्ने ८५० मिटर लम्बाईको सडक कालोपत्रे ३६ लाखको लागतमा विश्वकर्मा निर्माण सेवाले निर्माणको काम गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma