Developed By Kuldeep Sharma

५ महिना अगाडि

नागरिकहरुलाई आत्मनिर्भरता सँग जोडदै

माधव बेल्वासे
सिद्धार्थ सामाजिक विकास केन्द्रले कपिलवस्तुको शिवराज नगरपालिका अन्तर्गतका ३ वटा वडाका स्थानीय नागरिकहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले बहुआयामिक कार्यक्रम संचालन गरेको छ। शिवराज नगरपालिका वडा नं. ४, १० र ११ मा युवाक्लब, विद्यालय तथा कृषिलक्षित समूहमार्फत कार्यक्रमहरु सञ्चालनमा ल्याइएका छन्।
केन्द्रले ४२ जनालाई आवश्यकताको मूल्यांकनपछि १५ हजारदेखि २९ हजारसम्म नगद सहयोग प्रदान गरेको छ । यिनै सहयोगबाट स्थानीयले साना व्यवसाय सञ्चालन गर्दै जिविकोपार्जन गरिरहेका छन्। यस्तै, ३० जनालाई अर्गानिक तरकारी उत्पादनका लागि प्रतिव्यक्ति १० हजारका दरले सहयोग गरिएको छ। साथै, १२ वटा कृषक समूहलाई प्रतिग्रुप ५० हजारका दरले घुम्ती कोष स्थापना गर्न सहयोग गरिएको हो।

शिवराज १० लालपुरकी रोशनी चमारले केन्द्रको सहयोगमा किराना पसल सञ्चालन गर्दै आएकी छन्। “अहिले नियमित आम्दानी हुन थालेको छ, खुशी छु,“ चमारले भनिन्। त्यस्तै, स्थानीय ओम प्रकाश थारुले तरकारी खेती गर्दै आफु व्यवसायक बन्न सफल भएको अनुभव सुनाए ।
यसै क्रममा नगरप्रमुख अजय थापा नेतृत्वको टोलीले बुधवार ती वडामा संचालनमा आएका कार्यक्रमहरूको स्थलगत अनुगमन गरेको छ। अनुगमनको क्रममा शिवराज–११ मा रहेको ज्ञानोदय आधारभूत विद्यालयलाई २३ सेट फर्निचर, शैक्षिक सामग्री, अतिरिक्त क्रियाकलापका सामग्री लगायतका सामग्रीहरू प्रदान गरिएको कार्यक्रम संयोजक अजय चौधरीले बताए । विद्यालयको भौतिक संरचना मर्मत गर्नुपर्ने देखिएको हुँदा नगरप्रमुख थापाले पालिकासँग सहकार्यमा सुधारको पहल गर्न आग्रह गरे।
कार्यक्रम अन्तर्गत किशोर–किशोरी समूहद्वारा बालविवाह र लैंगिक हिंसाविरुद्ध सञ्चालन गरिएका अभियानहरूको समेत प्रस्तुति गरिएको थियो। किशोरी समूहकी पुनम नाउँले अहिलेसम्मका गतिविधि र आगामी योजनाहरूको जानकारी दिँदै समाज रूपान्तरणमा केन्द्रको भूमिकाको प्रशंसा गरिन् ।
शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले महिलाहरूलाई आत्मनिर्भर बनाउनु आजको आवश्यकता भएको उल्लेख गर्दै संस्थाको कार्यप्रति आभार व्यक्त गरिन्। “कृषि तथा महिलासम्बन्धी क्षेत्रमा केन्द्रले उदाहरणीय काम गरेको छ,“ उपप्रमुख थारुले भनिन्।
कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रकी अध्यक्ष सूर्यकुमारी शाहीले नगर क्षेत्रका महिला, युवाक्लब तथा विद्यालयहरूसँग सहकार्य गरेर आगामी दिनमा समेत सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरिन्। गाउँको आवश्यकता अनुसार पालिकासँग सहकार्य गरेर कार्यक्रम अगाडि बढाइने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma