Developed By Kuldeep Sharma

७ महिना अगाडि

नागरिकको शान्ति सुरक्षामा समर्पित हुनुपर्छ : महानिरीक्षक अर्याल

सशस्त्र प्रहरी बल नेपाल नं ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीको आठौं स्थापना दिवस विशेष कार्यक्रमका बीच सम्पन्न भएको छ। कपिलवस्तुको चन्द्रौटामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठनका कुनै पनि कर्मचारी लोभमा नफसी राज्यले दिएको अधिकारलाई प्रयोग गरी नागरिकको शान्ति सुरक्षामा समर्पित हुनुपर्नेमा जोड दिनुभयो। उहाँले सीमावर्ती क्षेत्रमा विपत व्यवस्थापन र राजस्व संकलनमा सशस्त्र प्रहरीले उल्लेखनीय योगदान गरेको बताउँदै आगामी दिनमा थप जिम्मेवारीसहित काम गरी नागरिकमा विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो।

महानिरीक्षक अर्यालले सिमा नाकामा हुने तस्करी नियन्त्रण गर्न केवल प्रहरी मात्र सक्षम नहुने भएकाले सबैको सहकार्य अपरिहार्य रहने बताउनुभयो। उहाँले संगठनलाई यहाँसम्म ल्याउन सहिद भएका प्रहरीहरूको योगदान स्मरण गर्दै श्रद्धाञ्जली समेत अर्पण गर्नुभयो।

त्यस्तै, कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले समाजमा विपत व्यवस्थापनदेखि सिमासुरक्षा र शान्ति सुरक्षामा सशस्त्र प्रहरीले गरेको योगदानको प्रशंसा गर्नुभयो।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट उपलब्धि हासिल गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको थियो। सोही अवसरमा उर्वसी आचार्यलाई लागुपदार्थ नियन्त्रण दूतको जिम्मेवारी प्रदान गरिएको छ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा बाहिनीपति दिपेन्द्र कुवरले प्रदेशभर सशस्त्र प्रहरीद्वारा सञ्चालित गतिविधि र उपलब्धिहरूबारे जानकारी दिनुभयो। उहाँले समुदायस्तरमा पुगेर काम गर्ने रणनीतिले संगठनलाई नागरिकसँग नजिक बनाउन सहयोग गरेको बताउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma