
माधव बेल्वासे
कपिलवस्तु
शिवराज नगरपालिकाले कक्षा १० (एसईई) र कक्षा १२ को सार्वजनिक परीक्षाको नतिजालाई लिएर समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । सोमबार नेपाल आदर्श माध्यमिक विद्यालयको सभाहलमा नगरका विषयगत शिक्षकहरुसँग विशेष छलफल गरी उत्कृष्ट नतिजा दिने शिक्षकहरुको अनुभव र कमजोर नतिजा ल्याउने पक्षहरुको कारणबारे गहिरो विश्लेषण गरिएको हो।
कार्यक्रममा नगर प्रमुख अजय थापाले निशुल्क शिक्षाको प्रभावकारिता र शिक्षकको भूमिकाबारे प्रकाश पार्दै शिक्षा क्षेत्रमा शिवराज नगरपालिकाले ठूलो लगानी गरेको उल्लेख गर्नुभयो । “शिक्षकको लगनशीलता र मेहनतकै कारण धेरै विषयमा राम्रो नतिजा आएको छ,” प्रमुख थापाले भन्नुभयो, “अब आगामी दिनमा अझ बढी समर्पण र मेहनतका साथ अघि बढ्न जरुरी छ।” उहाँले शिक्षकसँग सहकार्य गर्दै नगरपालिकाले शिक्षा क्षेत्रको विकासलाई निरन्तर प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा जनचेतना माध्यमिक विद्यालयका प्रध्यानाध्पक देवानन्द ठाकुरले आफ्नो विद्यालयले अंग्रेजी विषयमा शत प्रतिशत नतिजा ल्याउन सफल भएको जनाउँदै विद्यार्थीको लगनशीलता र शिक्षकको सिकाइ पद्धति यसको प्रमुख कारण रहेको बताउनुभयो । “केवल शिक्षकको प्रयासले मात्र पर्याप्त हुँदैन, विद्यार्थीको मेहनत पनि उत्तिकै जरुरी छ,” उहाँले भन्नुभयो।
त्यस्तै, गणित विषयमा शत प्रतिशत नतिजा ल्याउन सफल जय प्रकाश चौधरीले अतिरिक्त कक्षा, नियमित पठनपाठन, र क्षमताका आधारमा वर्गीकरण जस्ता विधिहरु अपनाएर उत्कृष्ट नतिजा हासिल गरिएको जानकारी दिनुभयो । “विद्यार्थीको लेखन शैली र अभ्यासको गुणस्तरले पनि नतिजा सुधारमा महत्वपूर्ण भूमिका खेल्छ,” चौधरीले भन्नुभयो ।
उता कमजोर नतिजा ल्याउने विषयका शिक्षकहरुले विद्यार्थीको नियमित कक्षामा उपस्थिति नहुनु प्रमुख समस्या भएको बताएका छन् । उनीहरुले अभिभावकको समेत ध्यान आवश्यक रहेको औंल्याउँदै आगामी दिनमा नतिजा सुधार गर्ने प्रतिवद्धता जनाए । शिवराज नगरपालिका शिक्षा शाखा प्रमुख पूर्ण विकले समिक्षाले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै अब शिक्षण प्रक्रियालाई अझ प्रभावकारी बनाउने योजना रहेको बताउनुभयो । साथै, समिक्षा कार्यक्रममा विषयगत शिक्षक समिति गठन गरिएको जानकारी पनि उहाँले दिनुभयो ।


प्रतिक्रिया