Developed By Kuldeep Sharma

३ हप्ता अगाडि

अरनिको बचत तथा ऋण सहकारी संस्थाको १६औँ साधारण सभा सम्पन्न

अरनिको बचत तथा ऋण सहकारी संस्थाको १६औँ साधारण सभा सम्पन्न भएको छ ।
सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री तथा लुम्बिनी प्रदेशसभा सदस्य अर्जुन कुमार केसीले सहकारीलाई वित्तीय संस्थाको रूपमा मात्रै नभई समृद्धिको माध्यमका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले सहकारीहरू आत्मनिर्भर अर्थतन्त्र निर्माणका प्रमुख आधारका रूपमा क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो।

पूर्वमन्त्री केसीले सहकारी क्षेत्रलाई पारदर्शिता, सुशासन र उत्तरदायित्वसहित सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै, सदस्यहरूको विश्वास नै सहकारीको सबैभन्दा ठूलो पूँजी हुने बताउनुभयो। साथै उहाँले अरनिको सहकारीले समुदायमा बचतको संस्कार स्थापना गर्न र स्थानीय स्तरमा आर्थिक सशक्तीकरणको वातावरण सिर्जना गर्न सफल भएको भन्दै प्रशंसा गर्नुभयो।

कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष टेकलाल सापकोटा, संस्थाका पूर्वअध्यक्ष सरद अधिकारी र नेपाली कांग्रेस शिवराज नगर सभापति मधु पोख्रेलले सहकारीको महत्व, सुशासन र स्थानीय आर्थिक विकासमा सहकारीको योगदानबारे आफ्ना मन्तव्य प्रस्तुत गर्नुभएको थियो।

साधारण सभामा संस्थाका अध्यक्ष द्रोण प्रसाद उपाध्ययले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै हाल संस्थामा ८९२ जना शेयर सदस्य रहेको जानकारी दिनुभयो। उहाँले सबै सदस्यहरूको एकता र सहयोगकै कारण संस्था निरन्तर प्रगतिको मार्गमा अघि बढ्न सफल भएको बताउनुभयो।

कार्यक्रममा कोषाध्यक्ष कमला डुम्रेले २ करोड ८३ लाख ८७ हजार रुपैयाँको शेयर पूँजी, १५ करोड ५० लाख २१ हजार रुपैयाँको ऋण लगानी तथा ३४ लाख ६५ हजार रुपैयाँको खुद नाफासहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो।

कार्यक्रम संस्थाका अध्यक्ष द्रोण प्रसाद उपाध्ययको अध्यक्षतामा, प्रदेशसभा सदस्य अर्जुन कुमार केसीको प्रमुख आतिथ्यतामा र सचिव नवराज न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma