Developed By Kuldeep Sharma

२ महिना अगाडि

संरचना सुधारसँगै पठनपाठनमा सहजता

माधव बेल्वासे
कपिलवस्तु
शिवराज नगरपालिका–४ बर्गदवामा अवस्थित महेन्द्र आधारभूत विद्यालयका विद्यार्थीहरू दशैं र तिहारको लामो विदा पछि विद्यालय फर्किँदा अचम्मित बने । उनीहरूले अघिल्ला वर्षहरूमा कहिल्यै कल्पना नगरेको परिवर्तन देखे — वर्षातमा चुहिने, गर्मीमा पोल्ने टिनको कोठा हराएको थियो, र त्यसको सट्टा चिटिक्कको भवनमा उनीहरूलाई पढ्न पाउने अवसर मिलेको थियो । विद्यालयका कक्षा ५ का विद्यार्थी प्रितम मौर्य भन्छन्, “विदाको समयमा भवन मर्मत भयो, पंखा जडान गरियो, र नयाँ शैक्षिक सामग्री पनि प्राप्त भयो । अब त गर्मी र पानीको समस्या छैन, आरामले पढ्न सकिन्छ ।”
महेन्द्र आधारभूत विद्यालयको यो परिवर्तनले विद्यार्थी मात्र होइन, अभिभावक र शिक्षकहरू पनि उत्साहित बनेका छन् । विद्यालयको भवन मर्मत, वातावरण सफा, व्यवस्थित बनेपछि विद्यार्थीहरूको ध्यान पढाइमा बढी केन्द्रित हुन थालेको शिक्षिका लक्ष्मि घिमिरेले बताइन् ।
यस्तै सुधार समेरीमा रहेको ज्ञानोदय आधारभूत विद्यालयमा पनि देखिएको छ । यस विद्यालयका कक्षा २ का विद्यार्थीहरू पहिला वर्षातको समयमा कक्षाकोठामा पानी जम्मा भएर पढ्नै नसक्ने अवस्थामा पुग्थे । विद्यार्थीहरू चिप्लिन्थे, कतिपयले पानीबाट बच्न बेंचमाथि बसेर पढ्थे । तर अहिले त्यो समस्या समाप्त भएको छ । विद्यालयको छानोमा नयाँ जस्तापाता जडान गरिएको छ र भुइँमा ढलान गरेर पानी जम्ने समस्या समाधान गरिएको छ ।
विद्यालयका प्रध्यानाध्यापक चिरञ्जीवी घिमिरेका अनुसार विद्यालयमा भौतिक संरचनाको कमी वर्षौंदेखि मुख्य चुनौती थियो । “यस वर्ष दुईवटा कक्षाकोठामा जिप्सन रङरोगन, गहिरो कोठामा ढलान, र बालविकास कक्षाको पुरानो जस्तापातालाई फेरेर नयाँ जडान गरिएको छ,” उनले बताए । “अब विद्यार्थीहरूलाई आरामले पढ्न बस्न मिल्ने वातावरण बनेको छ, जसले सिकाइमा पनि सकारात्मक प्रभाव पारेको छ ।” सन् २०२३ मा सिद्धार्थ सामाजिक केन्द्रले विद्यालयमा २३ सेट नयाँ फर्निचर व्यवस्थापन गरिएको छ । यसले विद्यार्थीहरूको बस्ने र लेख्ने सहजता बढाएको छ । पहिले विद्यार्थीहरू पुराना कुर्सी र डेस्कमा असहज मुद्रामा बस्नुपर्ने अवस्था हटेको छ ।
त्यस्तै, दर्गेश–नन्दनी आधारभूत विद्यालयमा पनि उल्लेखनीय सुधार भएको छ । शौचालय अभावका कारण विद्यार्थीहरूलाई पालो कुर्नुपर्ने, कतिपयले विद्यालयबाहिर जानुपर्ने अवस्था हटेको छ । अब छात्रामैत्री शौचालय निर्माण भएपछि विद्यार्थी, विशेषगरी छात्राहरू, सहज रूपमा विद्यालय बस्न र सिकाइमा केन्द्रित हुन सक्ने भएका छन् ।
सिद्धार्थ सामाजिक केन्द्रले विद्यालय सुधारका लागि उल्लेखनीय योगदान पुर्‍याएको छ । उक्त संस्थाले शिवराज नगरपालिकाका ३ वडामा रहेका १५ सामुदायिक विद्यालयहरूमा संरचना र सिकाइ गुणस्तर सुधारका लागि काम गरिरहेको छ । संस्थाको सहयोगमा महेन्द्र आधारभूत विद्यालयमा मात्रै करिब ५ लाख ३९ हजार रुपैयाँ लागतमा ३ वटा कक्षाकोठामा जिप्सन, रङरोगन, तारवार र अन्य आवश्यक सुधारका काम सम्पन्न गरिएको विद्यालयका प्रध्यानाध्यापक पुरुषोत्तम भट्टराईले बताए । उनका अनुसार, विद्यालयमा अझै पनि केही संरचना अभाव छन्,
सिद्धार्थ सामाजिक केन्द्रले विद्यालयका शिक्षकहरूको क्षमतावृद्धिमा पनि जोड दिएको छ । गत वर्ष संस्थाले अंग्रेजी शिक्षकहरूलाई तालिम दिएको थियो भने यो वर्ष गणित शिक्षकहरूलाई सिकाइ प्रभावकारी बनाउन तालिम प्रदान गरेको छ । संस्थाका संयोजक अजय चौधरीका अनुसार, “हाम्रो उद्देश्य विद्यालयमा मात्र भौतिक सुधार होइन, सिकाइको गुणस्तर सुधार पनि हो । त्यसैले हामी पालिकासँग सहकार्य गर्दै संरचना निर्माणसँगै शिक्षक तालिम, शैक्षिक सामग्री वितरण, र विद्यार्थी सहयोगका कार्यक्रमहरू सञ्चालन गरिरहेका छौं ।”
कपिलवस्तुको शिवराज नगरपालिकाका धेरै सामुदायिक विद्यालयहरूमा पछिल्ला वर्षहरूमा यस्ता सकारात्मक परिवर्तनहरू देखिएका छन् । संरचना सुधारले पठनपाठनमा सहजता ल्याएको छ । तर अझै पनि धेरै विद्यालयहरूमा पर्याप्त पूर्वाधार छैनन् । सरकारले ठूला र केन्द्रिय विद्यालयहरूमा मात्रै लगानी गर्दा साना र टाढाका विद्यालयहरू अझै पछाडि परेका छन् । कतिपय विद्यालयमा पर्खाल, खेलमैदान, विज्ञान प्रयोगशाला, र पुस्तकालयजस्ता आवश्यक संरचना अभावमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma