
कपिलवस्तु — सेवाग्राहीको घरदैलोमै सेवा पुर्याउने उद्देश्यका साथ विजयनगर गाउँपालिकाले घर–घरमै बायोमेट्रिक सेवा सुरु गरेको छ। सामाजिक सुरक्षा भत्ता लगायतका सेवामा पहुँच नपुगेका नागरिकहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको यो अभियानले विशेषगरी ज्येष्ठ नागरिक, अशक्त, दीर्घरोगी तथा असहाय व्यक्तिहरूलाई राहत दिएको छ।
गाउँपालिकाको पञ्जीकरण शाखा प्रमुख नारायण अर्यालका अनुसार वडा नं. २, ३ र ४ मा कर्मचारीहरू प्रत्यक्ष फिल्डमै खटिएर सेवाग्राहीको घर–घरमा पुग्दै बायोमेट्रिक दर्ता गरिरहेका छन्। धेरै नागरिकहरू उमेर, स्वास्थ्य अवस्था वा अन्य कारणले वडा कार्यालयसम्म आउन सक्नुहुन्न। उनीहरूलाई सेवा लिनबाट वञ्चित हुन नदिन घरमै पुगेर सेवा सुरु गरेकाे उनले बताए।
यस अभियानमार्फत सेवाग्राहीले कार्यालय धाउनुपर्ने झन्झट हटेको छ भने स्थानीय तहको सेवा प्रवाह अझ प्रभावकारी र पहुँचयोग्य बनेको छ। साथै, वास्तविक लाभग्राहीको पहिचानमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
गाउँपालिकाले बायोमेट्रिक दर्तालाई शतप्रतिशत पुर्याउने लक्ष्य राखेको छ। विगतमा विभिन्न कारणले दर्ता गर्न नसकेका नागरिकहरू अब सहज रूपमा समेटिने विश्वास गरिएको छ। स्थानीय बासिन्दाहरूले पनि यस पहललाई सकारात्मक रूपमा लिँदै सेवा घरमै पाउँदा सहज भएको प्रतिक्रिया दिएका छन्।
गाउँपालिकाले आगामी दिनमा बाँकी वडाहरूमा पनि यो अभियान विस्तार गर्ने योजना बनाएको छ। यसका लागि समयमै सूचना प्रवाह, जनप्रतिनिधिमार्फत जानकारी र आवश्यक समन्वयलाई थप प्रभावकारी बनाइने जनाइएको छ।
प्रतिक्रिया