कपिलवस्तुमा कार्यरत प्रहरीमा कोरोनाको जोखिम बढेको छ । जिल्लाको विभिन्न क्षेत्रमा कार्यरत प्रहरीमा कोरोना संक्रमण देखिन थालेपछि जोखिम बढेको हो । कपिलवस्तुमा अहिले सम्म ३६ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ६ जना निको भएका छन् भने ३० जना विभिन्न आइसुलेशनमा उपचारत रहेका छन् ।
जिल्लामा समुदाय स्तरमा फौलिएको कोरोनाले पछिल्लो समय नियमित काममा रहेका प्रहरीमा देखिन लागेको हो । लकडाउनको समयमा अनुगमन गर्ने तथा सीमा क्षेत्रको सुरक्षामा खटिएको प्रहरीहरुमा संक्रमण पुष्टि भएको छ । जिल्लाको सीमा क्षेत्र कृष्णनगरमा १ जना प्रहरी नायव निरिक्षक,३ जना हवल्दार र ८ जना जवान गरी १२ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै शिवराज नगरपालिका वडा ९ शिवगढीमा रहेको ईलाका प्रहरी कार्यालय सुन्दरीडाँडामा कार्यरत १ जना जवानमा कोरोना संक्रमण देखिएको छ ।
मायादेवि गाउँपालिकाको पकडी प्रहरी चौकीमा कार्यरत १ जना हवल्दार र दुई जना जवान गरी ३ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला ट्राफिक कार्यालय गोरुसिगेमा कार्यरत एक प्रहरी नायव निरिक्षकमा कोरोना पुष्टि भएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय तौलिहवामा कार्यरत १ जना प्रहरी नायव निरिक्षक, १ जना सहायक निरिक्षक,३ जना हवल्दार,२ जना कार्यलय सहयोगी र १२ जना जवानमा कोरोना संक्रमण देखिएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरिक्षक सुनिल मल्लले बताउनुभयो । संक्रमित मध्ये १० जना प्रहरीलाई कृष्णनगरको पुरानो प्रहरी भवनमा राखिएको,३ जनालाई धागो कारखाना बुटवल राखिएको र अन्यलाई तौलिहवाका महिला विकास कार्यालयको आइसुलेशनमा राखिएको मल्लले बताउनुभयो । प्रहरीमा संक्रमण देखिन थालेपछि जिल्ला कार्यलय अन्य कार्यालयमा समेत सर्तकता अपनाउन लागिएको उहाँले बताउनुभयो ।
बिहिवार जिल्लामा २४ जना संक्रमित थपिएसंगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । जिल्लाको कृष्णनगर नगरपालिका क्षेत्रका एकैपटक २४ जना कोरोना संक्रमित थपिएका हुन्। थपिएका संक्रमितहरु कृष्णनगर र बहादुरगंज क्षेत्रको समुदायस्तरको रहेको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताउनुभयो । अहिले जिल्लामा कुल संक्रमितको सख्या १००६ पुगेको छ ।

0Shares