१६ भदौ, काठमाडौं । कर्तव्य ज्यानसम्बन्धी कसूरका जिल्ला कारागार, सिन्धुलीको थुनामा रहेका एक कैदीलाई पेटमा समस्या देखिएपछि २६ साउनमा केन्द्रीय कारागार, सुन्धारा सरुवा गरियो । जगन्नाथदेवल (केन्द्रीय) कारागारको अस्पतालमा उपचार गर्ने गरी उनलाई सिन्धुलीबाट काठमाडौं ल्याइएको थियो ।

३१ साउनमा नोवेल कोरोना भाइरस (कोभिड-१९) को पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए । उनको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरेर ७ दिनपछि परीक्षण गर्दा एक महिला कैदीमा पनि कोरोना संक्रमण देखियो । पहिलो संक्रमित ९ भदौमा कोरोनामुक्त भएर कारागार फर्किएका छन् । तर, अन्य कैदीबन्दीमा संक्रमण देखिने क्रम रोकिएन ।

पाँच दिनसम्म छुट्टै राखेर मात्र पहिलो संक्रमितलाई समूहमा पठाएका थियौं’, बाँस्कोटा भन्छन्, ‘त्यसपछि पनि जारी कन्ट्याक्ट ट्रेसिङका क्रममा थप कैदीबन्दीमा संक्रमण देखिँदै गयो ।’ जेलर बाँस्कोटाका अनुसार हाल केन्द्रीय कारागारमा संक्रमित कैदीबन्दीको संख्या ५१ जना पुगिसकेको छ भने कारागार सुरक्षामा खटिएका नेपाल प्रहरीका ५७ जनालाई पनि कोरोना पुष्टि भइसकेको छ ।

भेटघाटमा रोक लगाउँदा पनि बाहिरका कैदीबन्दी ल्याउँदा भाइरस पनि आएको हुनेसक्ने कारागारका सूचना अधिकारी नवराज गड्तौला बताउँछन् । तर जिल्ला जनस्वास्थ्य कार्यालय र कारागार प्रशासनले कारागारमा कोरोना कसरी फैलियो भन्ने यकिन गर्न सकेको छैन ।

‘अहिले बाहिरबाट आउने सामानलाई पनि निःसंक्रमण गरेर मात्र भित्र ल्याउने गरेका छौं’, गड्तौलाले अनलाइनखबरसँग भने, ‘कारागारमा अनिवार्य हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने र सामाजिक दूरी कायम गर्ने व्यवस्था मिलाएका छौं । ‘केन्द्रीय कारारगारभन्दा अगाडि वीरगञ्ज कारागार, पर्सामा १३ साउनमा कैदीबन्दी र कर्मचारी गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

वीरगञ्ज कोरोनाको हटस्पट बनेको बेला कारागार संक्रमित भेटिएपछि ११८ जनाको स्वाब संकलन गरिएको थियो । जेलर श्रवण पोखरेल, कारागारको सुरक्षार्थ खटिएका २३ प्रहरीसहित सहित २९ जनामा संक्रमण पुष्टि भयो ।

संक्रमितलाई राख्न ७० शैयाको आइसोलेसन कारागारभित्रै तयार गरिएको उनले जानकारी दिए ।

वीरगञ्जको केसपछि अरु कारागारमा पनि नयाँ कैदीबन्दी आउँदा सतर्कता अपनाउन थालिएको थियो ।

जिल्ला अदालत, सिराहाले २५ साउनमा चोरी, जबरजस्तीकरणी र लागूऔषध सम्बन्धी कसूरका चार आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि प्रहरीले अभियुक्तहरूलाई जिल्ला कारागार पठाएको थियो ।

आरोपीहरूको पीसीआर टेष्टका लागि स्वाब संकलन भइसके पनि रिपोर्ट आइसकेको थिएन । ‘रिपोर्ट नआएकैले कारागारभित्र क्वारेन्टिनमा राखेका थियौं’, निमित्त जेलर बबिता महतो भन्छिन्, ‘नभन्दै उनीहरूमा कोरोना संक्रमण पुष्टि भयो ।’

कन्ट्याक्ट ट्रेसिङका क्रममा थप तीन जनामा संक्रमण पुष्टि भएको महतोले जानकारी दिइन् । अहिले कारागारमै ३० शैयाको आइसोलेसन कक्ष तयार गरिएको छ ।

कारागारहरू कोरोना भाइरसको संक्रमणका दृष्टिले कति जोखिममा छन् भन्ने माथिका दृष्टान्तहरूले देखाउँछन् । कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवषिर् सापकोटाका अनुसार मुलुकभरका ७१ कारागारमध्ये ७ वटामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनका अनुसार सबैभन्दा बढी केन्द्रीय कारागार सुन्धारामा कैदीबन्दी र सुरक्षाकर्मीसहित १०८ संक्रमित छन् ।

जिल्लागत हिसाबले सबैभन्दा बढी पर्सामा ३३, नेपालगञ्जमा ८, सिराहामा ७, सुनसरीको झुम्कामा ९, सिन्धुपाल्चोकमा २ र स्याङ्जामा १ जना कैदीबन्दीमा संक्रमण पुष्टि भएको छ । कारागार सुरक्षार्थ खटिएका सुरक्षाकर्मीतर्फ केन्द्रीय कारागारमा ५७, पर्सामा २३, स्याङ्जामा ३ र बाँकेमा १ जना संक्रमित छन् ।

अधिकांश अवस्थामा नयाँ कैदीबन्दी थप्दा, अस्पताल र अदालत लैजाँदा र काहीँ सुरक्षाकर्मीबाट पनि संक्रमण फैलिएको पाइएको कारागार विभागका महानिर्देशक द्रोण पोखरेल बताउँछन् । अहिले नयाँ कैदीबन्दी ल्याउँदा पनि पीसीआर जाँच र क्वारेन्टिनमा राखेर मात्र समूहमा राख्ने गरिएको महानिर्देशक पोखरेल बताउँछन् ।

क्षमताभन्दा चारगुणा बढी कैदीबन्दी

केन्द्रीय कारागारमा अहिले ३ हजार २७१ जना कैदीबन्दी छन्, उनीहरुमध्ये एक हजार ९५१ जना केन्द्रीय ‘ब्लक’मा छन् । जबकी सिंगो कारागारको क्षमता १४५० जना मात्र हो ।

संक्रमण देखिएका जिल्ला कारागार मध्ये सिराहा कारागारको क्षमता एक सय ५० जना कैदीबन्दी अटाउने हो । तर, त्यहाँ ५ सय ८५ जना कैदीबन्दी राखिएका छन् ।

नेपाल प्रहरीका अवकाश प्राप्त नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी भन्छन्, ‘अहिले कारागारमा क्षमताभन्दा तीन/चार गुणा बढी कैदीबन्दी छन् । यस्तो अवस्थामा सामाजिक दूरी कायम गर्ने भन्ने कुरा आफैंमा चुनौतिपूर्ण छ ।’

कारागार विभागका एक अधिकारीका अनुसार क्षमताभन्दा बढी रहेका कैदीबन्दीबीच सामूहिक बसाइका कारण जोखिम त्यसै पनि बढी हुनु स्वभाविक हो । त्यसमाथि कतिपय कारागारमा कैदीबन्दीले शौचालय मात्रै होइन, विस्तरा पनि एउटै प्रयोग गर्नुपर्ने अवस्था रहेको उनी बताउँछन् ।

कारागारमा कैदीबन्दी घटाउन जटिलता

प्रपतिनिधिसभाको राज्य व्यवस्था समितिले गत आइतबार कैदीबन्दी र कारागार सुरक्षार्थ खटिएका सुरक्षाकर्मीमा संक्रमण बढ्दै गएकाले उच्च सतर्कता अपनाउन विशेष योजना लागू गर्न निर्देशन दियो । जोखिम भएका र नभएका कैदीबन्दीलाई वेग्लावेग्लै राख्न पनि समितिले निर्देशन दिएको छ ।

समितिको ‘भर्चुअल’ बैठकमा सहभागी केही सांसदहरूले कैदीबन्दीको संख्या घटाउन पनि सुझाव दिएका छन् । संविधान दिवस जस्ता अवसरमा कैदीबन्दीलाई छाडिने गरेकामा महामारीका कारण त्यसलाई अगाडि सारेर कैदीलाई छाड्न पनि सांसदहरूको सुझाव छ ।

तर, कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेल भने कर्तव्य ज्यान, लागूऔषध, अपहरण तथा शरीर बन्धकसहितका १९ वटा कसूर नेगेटिभ सूचीमा भएकाको धेरै भएकाले त्यसरी छाड्दा पनि ठूलो संख्या नघट्ने बताउँछन् । ‘त्यसरी छुट्नेले ५० प्रतिशत कैद भुक्तान र असल आचरण हुनुपर्छ भन्ने कानुनी व्यवस्था छ’, पोखरेलले भने, ‘अहिले कारागारमा भएका कैदीबन्दीको सूची हेर्दा ७० प्रतिशत नेगेटिभ सूचीका छन् ।’

पुर्पक्षका लागि थुनामा रहेकालाई पछि अदालतमा हाजिर हुने गरी छाड्न सुझाव आएपनि अदालतको आदेशविना छाड्न नमिल्ने उनी बताउँछन् । ‘फेरि पीडकलाई सुविधा दिने नाममा पीडितलाई अन्याय गर्न पनि मिलेन’, पोखरेलले भने, ‘मुलुकी फौजदारी संहिताको दफा १५५ मा एक वर्षभन्दा कम सजाय भएकाले दैनिक ३ सयको दरले जरिवाना तिरे छाड्न मिल्ने भनेको छ, त्यसअनुसार २१९ जना छुटिसकेका छन् । गम्भिर प्रकृतिका मुद्दामा भने समस्या छ ।’

देशभरका कारागारमा १४ हजार कैदी र १० हजार जना थुनुवा छन् । यदि नेगेटिभ सूचीमा रहेर ५० प्रतिशत सजाय भुक्तान गरिसकेका कैदीलाई छाड्ने हो भने ५ देखि ६ हजार छुट्न सक्छन् । यसका लागि मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने विभाग बताउँछ ।

अब कारागारमा आइसोलेसन सेन्टर

संक्रमितलाई राख्नका लागि विभिन्न कारागारले अहिले आइसोलेसन पनि तयार गरिरहेका छन् । अधिकांशमा क्वारेन्टिन तयारी अवस्थामा रहेको महानिर्देशक पोखरेल बताउँछन् ।

हाल केन्द्रीय कारागारमा देखिएका संक्रमित मध्ये ३८ जना आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा राखिएका छन् । माथिल्लो तलमा स्वस्थ्य र उनीहरुसँग सम्पर्क नहुने गरी तल्लो तलमा कैदीबन्दीलाई राखिएको पोखरेलले बताए । संक्रमणको संख्या बढ्दै गए, थप आइसोलेसन सेन्टरहरू स्थापना गर्ने गरी स्थानको पहिचान समेत गरिएको कारागार विभागका महानिर्देशक पोखरेलले बताए ।

0Shares