Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

उपत्यकामा थप एक साता निषेधाज्ञा

काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप एकहप्ता भदौ २४ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका तीनवटै प्रमुख जिल्ला अधिकारीहरू सम्मिलित कोभिड–१९ रोकथाम तथा नियन्त्रण बैठकले १३ बुँदे निषेधात्मक र १६ बुँदे सेवा सञ्चालन गर्न पाउनेसम्बन्धी निर्णय बुुधबार सार्वजनिक गर्दै निषेधाज्ञा थप्ने निर्णय गरेका हुुन् ।
यो निर्णयसँगै यसअघिको तुलनामा यो साता निषेधाज्ञामा केही खुकुलो बनाइएको छ । भदौ ३ गतेदेखि जारी एकसाता लामो निषेधाज्ञा १० गतेबाट पुनः थप गरी १७ गतेसम्म पु¥याइएको थियो र अब थप एकसाता पुनः निषेधाज्ञा हुनेछ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारीबाट बुधबार जारी २९ बुँदे निर्णयमा के–के सञ्चालन गर्न पाउने उल्लेख गरिएको छ । निर्णय अनुुसार नेपाल सरकारले तोकेको स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पूरा गरी उपत्यकाभित्र विकास निर्माणसँग सम्बन्धित पसल तथा व्यापार व्यवसाय, निर्माण सामग्री ढुवानी सेवा दिउँसो २ बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालन गर्न पाउनेछन् ।
त्यस्तै अत्यावश्यक वस्तु तथा सेवाअन्तर्गत औषधि, पानी, दैनिक उपभोग्य वस्तु ग्यास, इन्धन, मेडिकलजन्य सामग्री र स्वास्थ्यकर्मीका सवारी निर्वाध रूपमा सञ्चालन भइरहेका छन् ।
खाद्य वस्तु, किराना तथा तरकारी पसल, दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछा–मासु बिक्री वितरणका लागि बिहान ११ बजेसम्मको समय निर्धारण गरिएको छ । यसअघि ९ बजेसम्म तोकिएको थियो । अब पीसीआर रिपोर्ट नेगेटिभ भएका व्यक्ति काठमाडौँमा भित्रिन पाउनेछन् ।
अनलाइन कारोबारअन्तर्गत उपभोग्य वस्तुको होम डेलिभरी सेवा प्रदायकको हकमा डेलिभरी गर्ने व्यक्तिको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्नेछ । सोही रिपोर्टका आधारमा सेवा प्रदायकहरूले घरघरमा २४संै घण्टा सेवा प्रदान गर्न पाउनेछन् ।
होम डेलिभरी सेवा प्रदान गर्ने क्रममा सम्पर्कमा आएका व्यक्तिको अभिलेख फोन नम्बरसहित स्पष्ट राख्नुपर्नेछ भने भुक्तानी पनि अनलाइन सेवाबाट नै लिनुपर्नेछ । यो सेवा सञ्चालनका लागि तयार पारिएको मापदण्ड जारी हुन बाँकी छ ।
राष्ट्रिय प्राथमिकताका आयोजनामा कार्यरत कामदार तथा कर्मचारीका लागि आयोजना स्थलमै कवारेन्टाइनको व्यवस्था, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रोटोकल अनुसार अनलाइन कक्षा सञ्चालन गर्न, कवारेन्टाइन एवं आइसोलेसनमा रहेकाका लागि खाना खुवाउने क्याटरिङ र होटलको हकमा निषेधाज्ञा लागू हुने छैन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि क्वारेन्टाइन वा आइसोलेसन तथा होटलसम्म जाने यातायातका साधन निर्वाध रूपमा सञ्चालन हुन पाउनेछन् । स्वाब परीक्षण गराएका व्यक्तिले रिपोर्ट नआउञ्जेलसम्म होम क्वारेन्टाइनमा बस्नुपर्नेछ । यसको निगरानी तथा अनुगमन गर्ने अधिकार नगर तथा पालिकाको वडालाई तोकिएको छ ।
त्यस्तै अत्यावश्यक सेवासँग सम्बन्धित उद्योग व्यवसाय, कलकारखाना सञ्चालन गर्न सकिनेछ । उद्योग व्यवसाय तथा कलकारखानामा कार्यरत कर्मचारीका लागि खान बस्नको छुट्टै व्यवस्था गर्नुपर्नेछ । उद्योग तथा कलकारखानामा कार्यरत कामदार तथा मजदुरका लागि गरेको छुट्टै क्वारेन्टाइन व्यवस्थाको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९डीसीसीएमसी० र सीसीएमसीले गर्ने जनाइएको छ ।
बैङ्क तथा वित्तीय संस्थाहरूले आफ्ना सेवालाई भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । यो सेवा दिन नसके एउटा कार्यालयमा एकदेखि तीन जना कर्मचारीको व्यवस्था गर्न भनिएको छ ।
एटीएम सेवा सञ्चालनका लागि सम्बन्धित बैङ्कले नै नियमित रूपमा एटीएम बुथ निर्मूलीकरण गर्नुपर्नेछ । सो कार्य भए नभएको नेपाल राष्ट्र बैङ्कबाट गठित टोलीले अनुगमन गर्ने जनाइएको छ ।
विदेश जानेका लागि हवाई टिकट र भिसा भएकाहरू आफ्नो जिल्लाबाट सीधै भाडाको वा आफ्नै सवारी साधन प्रयोग गरी अन्तर्राष्ट्रिय विमानस्थल जान सक्नेछन् । उल्लेखित सेवाको नियमित अनुगमन तथा निगरानी हुने जनाइएको छ ।
कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञाको पालना गर्न र गराउन अनुरोध गर्दै स्थानीय प्रशासनले निषेधाज्ञा उल्लङ्घन गर्नेलाई सङ्क्रामक रोग ऐन–२०२० अनुसार कानुनी कारबाही गरिने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma