Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

समयमै रासायनिक मल नल्याउने दुई कम्पनीसँगको ठेक्का सम्झौता रद्द, धरौटी जफत

काठमाण्डौ – तोकिएको समयमा रासायनिक मल नल्याउने ठेकेदार कम्पनीलाई सरकारले कारबाही गरेको छ । मल आपूर्तिको ठेक्का लिएका कम्पनीहरुले गरेको लापर्वाहीलाई कारबाही गर्ने प्रक्रिया सुरु भएको र उनीहरुसँग भएको ठेक्का रद्द गरिएको कृषि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ठेकेदार शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनीसँगको ठेक्का सम्झौता रद्द भएको हो । उनीहरुको धरौटीसमेत जफत गर्ने निर्णय गरेको कृषिमन्त्री घनश्याम भुसालले जानकारी दिनुभयो । कम्पनीको निर्णयपछि दुवै कम्पनीले राखेको पाँच करोड कार्यसम्पादन धरौटी रकम जफत हुनेछ ।

फरक–फरक ठेक्कामार्फत ५० हजार मेट्रिक टन युरिया मल ल्याउनका लागि पुस २८ र माघ ४ मा गरिएको टेण्डरमा दुई कम्पनीले ठेक्का पाएका थिए । दुवै कम्पनीले गरेको ठेक्का सम्झौताअनुसार साउन १० गतेसम्म पहिलो लट तथा भदौ २० भित्र सबै मल ल्याइसक्नुपर्ने थियो ।

यसवर्ष धान रोपेपछि हाल्नुपर्ने मलको अभाव हुन गएकोमा दुखी भएको मन्त्री भुसालले बताउनुभयो । नेपालमै रासायनिक मलको कारखाना खोल्नेबारे दशकौँदेखि चर्चा भएको तर सन् १९९५ तिर गरिएको एउटा अध्ययनले नेपालमा मल कारखाना खोल्न सम्भव नभएको देखाएको थियो । तर २०१६ मा लगानी बोर्डले गरेको अध्ययनले नेपालमा मल कारखाना सम्भव भएको तर केही समय लाग्ने सुझाएको थियो ।

कृषि मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीको नेतृत्वमा ‘रसायनिक मल कारखाना सम्भाव्यता अध्ययन कार्यदल’ गठन गरेको र त्यसले काम थालेको पनि विज्ञप्तिमा उल्लेख छ । अहिले ३२ हजार पाँच सय मेट्रिक टन युरिया कलकत्ता बन्दरगाहबाट नेपाल भित्रिरहेको र वितरण भइरहेको छ ।

चाहिने समयभन्दा ढिलो गरी आएको हुँदा कतिपय जिल्लामा मल वितरणमा समस्या देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma