Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

पेट्रोलमा मिसावट गर्ने ट्याकंर चालकलाई कालोबजारी मुद्दा

४ असोज, काठमाडौं । पेट्रोलमा हानीकारक पदार्थ मिसावट गर्ने चार वटा ट्याकंरका चालकलाई कालोबजारी अभियोगमा मुद्दा चलाउन नेपाल आयाल निगमले सिफारिस गरेको छ ।

निगमको अमलेखगन्जमा तीन र थानकोट डिपोमा फेला परेको एकसहित चारवटा ट्याकंरका चालकलाई कालोबजरी तथा केही अन्य सामाजिक तथा सजाय ऐनअनुसार कारबाही गर्न निगमले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको हो ।

थानकोट डिपोमा मिसावट भेटिएको ट्याकंरका चालकलाई काठमाडौं जिल्ला प्रशासन र अमलेखगन्जमा भेटिएको मिसावट चालकलाई कारवाही गर्न जिल्ला प्रशासन बारालाई पत्राचार गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

मिसावट गर्ने चालकलाई जरिवाना र जेल सजायसमेत हुनेगरी पहिलोपटक कारवाही सिफारिस गरिएको प्रवक्ता उपाध्यायले बताए । ‘मिसावट गर्नेलाई यसअघि जरिवाना, सेवा स्थगन र चेतवानी हुन्थ्यो, तर पहिलो पटक निगमले कडा कानूनी कदम चालेको छ,’ प्रवक्ता उपाध्यायले भने ।

एक साताअघि पेट्रोल बोकेर बरौनीबाट आएका तीन वटा ट्याकंरको निगमको अमलेखगन्ज डिपोले गुणस्तर परिक्षण गरेको थियो । जसमा ढुवानीकर्ता बैकुण्ठ बलामी रहेकोे ना ७ ख ४०९३ ट्याकंंरको पाँच नम्बर चेम्बरमा ४ हजार लिटर पेट्रोलजमा मिसावट भेटिएको थियो ।

उक्त ट्याकंरका चालक सन्तोष खड्कालाई बारा प्रहरीमा बुझाइएको छ । यस्तै ढुवानीकर्ता रामचन्द्र मिश्र रहेको ना ७ ख ३९२३ नम्बरको ट्याकंरमा १२ हजार लिटर पेट्रोलमा मटितेल जस्तो देखिने अरु केही केमिकल मिसाएको पाइएको थियो । उक्त ट्यांकर राजेश विश्वकर्माले चलाएका थिए । उनलाई पनि बारा प्रहरीले पक्राउ गरेको छ ।

यस्तै सुरेन्द्र श्रीवास्तवको ना ७ ख १७५७ नम्बरको ट्याकंर मा रहेको १२ हजार लिटर पेट्रोलमा पनि मिसावट पाइएको निगमका अमलेखगन्ज डिपो प्रमुख इन्जिनियर भरत रेग्मीले जानकारी दिए । मिसावटमा संलग्न उक्त ट्याकंरका चालक सञ्जीवकुमार लामा अहिले फरार छन् ।

यता थानकोट डिपोले गरेको गुणस्तर परीक्षणमा बरौनीबाट पेट्रोल लिएर आएको ना ४ ख ७२५६ नम्बरको ट्यांकरमा मिसावट पाइएको थियो ।

उक्त ट्यांकरका चालक तथा मालिक प्रमेशकुमार श्रेष्ठलाई कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय सिफारिस गरिएको छ ।

इन्जिन सिज हुने गरी मिसावट

पेट्रोलमा चालकले मिसावट गरेको पदार्थका कारण पेट्रोल गाडीको इन्जिन सिज हुने गुण पाइएको इन्जिनियर रेग्मीले जानकारी दिए । पेट्रोलमा भएको मिसावट पछि घनत्व पेट्रोलको भन्दा पनि धेरै पाइएको उनले बताए ।

‘यस्तो मिसावटको पेट्रोल सवारीमा पर्‍यो इन्जिन सिज हुन्छ,’ रेग्मीले भने । एउटा ट्याकंरले गरेको मिसावट नेपाली ल्यावले  छुट्याउन नसकेपछि भारतीय आयल कर्पोरेसनको ल्याबमा नमूना पठाउन लागिएको उनले बताए ।

दुई जना पक्राउ, केही फरार

पेट्रोलमा मिसावट गर्ने दुई जना चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । सन्तोस खड्का र राजेश विश्वकर्मा नाम गरेका दुई जना चालकलाई भदौ ३० गते पक्राउ गरिएको र अन्य केही फरार रहेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई कालोबजारी तथा सामाजिक अपराध ऐनअनुसार मुद्धा चल्ने डीएसपी मिश्रले बताए । उक्त ऐनअनुसार वस्तुको स्तर घट्नेगरी गुणस्तर बिगारेको आरोपमा ९ महिना कैद र  दुई लाख रुपैयाँ जरिवाना हुने छ ।

ढुवानीकर्तालाई पनि कारबाही

मिसावटमा संलग्न ट्यांकरका ढुवानीकर्तालाई पनि निगमले कारबाही गर्ने भएको छ । ढुवानीकर्तासँग निगमले गरेको करार अनुसार चाकललाई नभई ढुवानीकर्तालाई मात्रै निगमले चिन्ने निगमका एक अधिकारीले बताए ।

‘गुणस्तरीय पेट्रोल ल्याउने गरी हामीले ढुानीकर्तासँग सम्झाता गरेका हौँ, गुणस्तरीय इन्धन नपाएपछि कारबाही उसलाई पनि गर्छौं,’ ती अधिकारीले भने । मिसावटमा संलग्न ढुवानीकर्तासँग भएको करार सम्झौता भंग वा केही समय स्थगनसहितको नसिहतको तयारी थालिएको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma