Home Featured, समाचार प्रचण्डले शिलान्यास गरेको पुलको ओलीले उद्घाटन गर्ने
Featuredसमाचार

प्रचण्डले शिलान्यास गरेको पुलको ओलीले उद्घाटन गर्ने

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीको राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन माघ १२ गते हुने भएको छ । राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने नेपालकै दोस्रो लामो पक्की पुलको उद्घाटन माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले जानकारी दिनुभयो ।

झण्डै एक वर्षअघि निर्माण सम्पन्न भएको पुलको उद्घाटन प्रधानमन्त्री ओलीले गर्नुहुने भएको हो । यो पुल पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माण सम्पन्न भएको थियो । यो पुलको लम्बाइ ८ सय ६० मिटर र चौडाइ साढे १० मिटर छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०७३ मङ्सिर २२ गते पुलको शिलान्यास गर्नुभएको थियो । झण्डै एक अर्ब रुपैयाँ लागतको यो पुल चार वर्षभित्र बनाइ सक्ने सम्झौता भएको थियो ।

पुल नहुँदा सिसहनियाँ–महदेवा वारि–पारि गर्न वर्षायाममा उर्लिएको भेलमा जोखिमपूर्ण तरिकाले डुङ्गा तर्नुपर्थ्यो । राप्ती नदीमा पुल निर्माण भएसँगै यात्रा गर्न सहज भएको स्थानीयले बताएका छन् । पुल निर्माणबाट साविकको गोबरडिहा गाविस र साविकको सिसहनियाँ क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् ।

यो पुल पर्यटकीय गन्तव्यको रूपमा विकास भएको छ । दाङबाट मात्रै नभएर बाहिरी जिल्लाबाट समेत यहाँ पर्यटक आउने गरेका छन् । पहिले गढवा गाउँपालिकाअन्तर्गत पर्ने राप्तीपारिको क्षेत्रबाट वारि आउँदा कालाकाटे–भालुवाङ हुँदै झण्डै डेढ घण्टाको सवारी यात्रा गर्नुपर्ने अवस्था थियो, अहिले पुल निर्माण भएसँगै १५ मिनेटभित्रै वारपार गर्न सकिने भएको छ

Facebook Comments Box
Shares

Author

मोफसल खबर