Home Featured, समाचार दाहालले शिलान्यास गरेको पुल ओलीद्वारा उद्घाटन
Featuredसमाचार

दाहालले शिलान्यास गरेको पुल ओलीद्वारा उद्घाटन

 प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्मित पुल सोमबार उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरबाट पुल उद्घाटनका लागि राप्ती उपत्यकाको सिसहनिया पुगेका हुन् ।प्रधानमन्त्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, मन्त्री, प्रदेशसभाका सदस्य र प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलगायतले स्वागत गरेका थिए । पुल उद्घाटनपछि उनले राप्ती गाउँपालिका–२ लालमटियामा आयोजित जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने गरी बनेको यो पक्की पुल नेपालकै दोस्रो लामो हो 

निर्धारित समयभन्दा चार महिनाअगाडि नै निर्माण भएको पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ । करिब एक अर्ब लागतको उक्त पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो । पुल निर्माणपछि देउखुरी क्षेत्रका सिसहनिया–महदेवा वारपार गर्न सहज भएको छ । यसअघि वर्षायाममा उर्लिएको भेलमा जोखिमपूर्ण तरिकाले राप्ती नदी डुंगाबाट वारपार गर्नुपर्ने बाध्यता थियो । पुल निर्माणसँगै देउखुरीबासीलाई यात्रा गर्न सहज हुने छ 

पुल निर्माणबाट साबिकको गोबरडिहा गाविस र साबिकको सिसहनियाँ क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् । पछिल्लो समय पुल पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । दाङ जिल्लाका मात्रै नभएर बाहिरी जिल्लाबाटसमेत आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् ।

अहिले गढवा गाउँपालिकाअन्तर्गत पर्ने राप्तीपारिको क्षेत्रबाट आउँदा कालाकाटे–भालुवाङ हुँदै करिब डेढ घण्टा सवारी साधनबाट यात्रा गर्नुपर्ने अवस्था छ । पुल निर्माणसँगै १५ मिनेटभित्रै वारपार गर्न सकिने भएको छ ।

बर्दियाको गेरुवा नदीमा पुल बनाएकै कम्पनी द एएनके लुम्बिनी वाईपी जेभीले देउखुरीको राप्ती नदीको पुल बनाउने जिम्मा पाएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २०७३ मंसिर २२ गते पुल शिलान्यास गरेका थिए ।

Facebook Comments Box
Shares

Author

मोफसल खबर