Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

चन्द्रौटाका तीन ठुला योजना,जसले बजारको मुहार फेर्ला ?

माधव बेल्बासे
कपिलवस्तु (चन्द्रौटा),
ठुला,ठुला घरहरु छन् । अधिकांश सडक कालोपत्रे छन् । तीव्र रुपमा बजारीकरण हुँदै छ । सानो व्यापार देखि ठुला ठुला उद्योगहरु सञ्चालनमा रहेका छन् । पूर्व पश्चिम राजमार्गमा पर्ने कपिलवस्तुको चन्द्रौटा बजार छोटो समयमा विकास भएको क्षेत्र हो । २०६४ सालमा भएको हिंसात्मक घटना पछि बजार केही असुरक्षित हुँदा हुँदै पनि विकासले भने फड्को मारेको छ । राजमार्ग निर्माणका क्रममा मजदुरहरु बस्ने गरेको यो बजार अहिले तीव्र रुपमा विकास भइरहेको छ । लुम्बिनी प्रदेशको केन्द्रबिन्दुमा पर्ने यो बजारमा प्रदेशका झन्डै ६ जिल्लाहरुका नागरिकहरु बजार गर्न आउने गर्दछन् । अर्घाखाँची,प्युठान,गुल्मी,रोल्पा लगायतका जिल्लाहरु वाट यहाँ बसाइसराइ गरी आउनेहरुको सङ्ख्या अहिले पनि कमी छैन । पहाडी,मधेसी,मुस्लिम र थारु समुदायको बाहुल्यता रहेको यो क्षेत्रमा मिश्रित बस्तीहरु रहेका छन् । प्रदेशको राजधानी देउखुरी तोकिएपछि यहाँका जग्गाको मूल्य दोब्बरले बढेको छ । मुलुकका ठुला भन्सार नाका मध्येको यो कृष्णनगरसँग जोडिएको नजिकको बजार हो । बजारको पहुँच भारतीय राष्ट्रिय रेल सञ्जालसम्म छ । बढनी रेल्वे स्टेसन पनि नजिकै छ । चन्द्रौटाबाट कृष्णनगर २० किलोमीटर दक्षिणमा छ । लुम्बिनी र कर्णाली प्रदेशका अधिकांश पहाडी जिल्लाका नागरिक भारत आउजाउ गर्न यही नाका प्रयोग गर्छन् । यस बजार क्षेत्रमा तीन ठुला योजनाहरु कार्यान्वयनको चरणमा रहेका छन् । शिवराज नगरपालिकाको मुख्य बजार रहेको चन्द्रौटालाई व्यवस्थित बजार बनाउन योजना नबन्दा अहिले पनि बजार पुग्दा नाक खुम्च्याउनुपर्ने बाध्यता छ । बजार कस्तो बनाउने विषयमा स्थानीय तह गम्भीर बन्नुपर्ने नागरिकहरुको भनाई छ । बजार व्यवस्थित र नागरिकहरुको सुविधाको लागि सहज होस भन्ने उद्देश्यले सञ्चालन हुने उक्त योजनाले पक्कै पनि बजारको मुहार फेर्ने छ ।
रिफ्रेस सेन्टर
लुम्बिनी प्रदेशको गौरवको योजनाको रुपमा रहेको रिफ्रेस सेन्टर कपिलवस्तुको चन्द्रौटामा निर्माणधिन छ । प्रदेशका ५ स्थानमा बन्ने रिफ्रेस सेन्टर पहिलो चारणमा कपिलवस्तु र रुपन्देहीमा बन्न लागेको छ । गत पुसमा मुख्यमन्त्री शङ्कर पोखरेलले शिलान्यास गर्नुभएको रिफ्रेस सेन्टर निर्माण पश्चात् यहाँको बजारले मुहार फेर्ने आशा छ । बजार क्षेत्रमा छरिएर रहेका सवारीलाई रिफ्रेस सेन्टरमा व्यवस्थित गर्न सकेमा बजार सुन्दर देखिनेछ भने दुर्घटना पनि कमी आउनेछ । चन्द्रौटा चोक देखि झन्डै एक सय मिटर पूर्व पट्टि निर्माण हुँदै गरेको रिफ्रेस सेन्टरले यस क्षेत्रको विकासमा समेत टेवा पुग्ने स्थानीय व्यापारी सिसिर पोख्रेलले बताउनुभयो । बजारमा यत्रतत्र छरिएर रहेका अव्यवस्थित सवारीलाई व्यवस्थित बनाउन सकेमा बजारमय फरकपन देखिने पोखरेलले बताउनुभयो ।
रिफ्रेस सेन्टर निर्माण पश्चात् स्थानीय तहलाई प्रदेशले हस्तान्तरण गर्ने र सके स्थानिय तहले सञ्चालन गर्ने नत्र निजी क्षेत्रलाई संचालनको लागि जिम्मा दिनुपर्ने देखिन्छ । हाटबजारको छेउमै बन्ने उक्त रिफ्रेस सेन्टर नजिकै अन्य भवन निर्माण गरी होटेल,पसलहरु सञ्चालन गर्न सकेमा नागरिकहरु पनि व्यावसायिक र सेन्टर सञ्चालन गर्न पनि सहज हुने देखिन्छ ।
प्रदेश स्तरीय सरुवा रोग अस्पताल
यहाँ भरपर्दो अस्पताल छैन । उपचारका लागि रुपन्देहीको बुटवल र भैरहवा तथा भारत पुग्नु पर्छ । व्यवस्थित अस्पताल नहुँदा यहाँका नागरिकहरुले पटक पटक अस्पतालको माग गरेका छन् । यही मागलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशले यस आर्थिक वर्षका नीति तथा कार्यक्रममा शिवराज नगरपालिका ५ चन्द्रौटामा प्रदेश स्तरीय सरुवा रोग अस्पताल निर्माण गर्ने समावेश गरेको छ । योजना निर्माण गरेपनि जग्गाको अभावले बन क्षेत्र अस्पताल निर्माण गर्न अनुमति लिन पटक पटक काठमान्डौ मन्त्रालय धाउनुप¥यो । चोक बाट झन्डै एक किलोेमिटर पूर्व मा रहेको ९ बिघा जग्गामा अस्पताल निर्माण गर्ने मन्त्रीपरिषदले निर्णय गरेपश्चात् अस्पताल बन्ने पक्का भएको छ । अस्पताल नहुँदा नागरिकलाई ठुलो समस्या रहेकाले अब त्यो समस्या हटने प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले बताउनुभयो । अस्पताल निर्माण हुनु शिवराज क्षेत्रको मात्र कुरा नभई प्रदेशका धेरै जिल्लाका नागरिकहरुले सहज हुनेछ केसीले भन्नुभयो सरुवा रोग बनेपछि रोल्पा प्युठान लगाएतका नागरिकहरुले पनि सेवा लिनेछन् । आगामी महिनामा अस्पताल निर्माणको लागि टेन्डरको आवहान हुने केसीले बताउनुभयो । यसलाई पनि चन्द्रौटा क्षेत्रको विकासको मुख्य मेरुदण्डको रुपमा हेरिएको छ ।
चन्द्रौटा–कृष्णनगर चार लेन सडक
चन्द्रौटा–कृष्णनगर सडक चार लेन निर्माणको क्रममा छ । चन्द्रौटा चोक देखि २० किलोमिटरको दुरीमा रहेको यो कृष्णनगर भारतको सीमा क्षेत्र हो । यो सडक निर्माण पश्चात् चन्द्रौटा बजार क्षेत्र सँगै आसपासका नागरिक र उद्योगहरुलाई सहज हुने विश्वास छ । चन्द्रौटा चोक देखि कृष्णनगर सम्म पुग्दा झन्डै ६० भन्दा बढी साना ठुला उद्योगहरु छन् । सानो सडक हुदाँ दिउसोको समयमा भारतवाट कच्चा पदार्थ आयात गर्न नसक्ने अवस्था रहेका उद्योगहरु चार लेन सडक निर्माण पछि सजिलै सामानहरु ल्याउनेछन् । चन्द्रौटा क्षेत्र अहिले उद्योगहरु स्थापित हुन खोजिरहेका छन् । स्थानीय सरकारले कसरी उद्योगलाई स्थापित गराउन सकिन्छ भन्नेमा ध्यान दिन जरुरी रहेको उद्योग वाणिज्य संघ चन्द्रौटाका अध्यक्ष जम्सेर अलि मियाँले बताउनुभयो । ‘स्थानीय सरकार र प्रदेश सरकारले चन्द्रौटा कृष्णनगर क्षेत्रलाई उद्योग सञ्चालन गर्ने वातावरण तयार सकिन्छ भन्ने सोच ल्याउनुपर्छ,’ मियाँले भन्नुभयो ‘उद्योग स्थापना भए आय आर्जन हुन्छ,रोजगार बढ्छ, नागरिकहरु आत्मनिर्भर बन्छन् ।’
चन्द्रौटा कृष्णनगर सडक निर्माण पश्चात यहाँका सबैलाई फाइदा पुग्ने प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहले बताउनुभयो । यहाँको भन्सारलाई व्यवस्थित बनाउन सके मुलुककै ठुलो नाकाको रुपमा विकास गर्न सम्भव रहेको शाहले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma