Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

यस हप्ता सङ्क्रमण दर ५ दशमलव ७ प्रतिशतले घट्याे, ‘मापदण्ड पालना नगरे फेरि बढ्छ

नेपालका कोभिड–१९ को सङ्क्रमण दर यस हप्ता घटेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयाेजित नियमित प्रेस ब्रिफिङमा आइतवार यस हप्ता सङ्क्रमण दर घटेकोे जानकारी दिइएको हो । इपिडिमियोलोजिस्ट (महामारी विज्ञ) तथा काठमाण्डाै विश्वविद्यालयकी उपप्रध्यापक डाक्टर अर्चना श्रेष्ठले गत हप्ताकाे तुलनामा यस हप्ता ५ दशमलव ७ प्रतिशतले सङ्क्रमण दर घटेको बताउनुभयाे ।  

पछिल्लो २४ घण्टामा सात हजार नाै सय १४ सङ्क्रमित भेटिएका छन् । शनिवारको तुलनामा आज भेटिएका सङ्क्रमितको सङ्ख्या कम हो । शनिवार आठ हजार नाै सय ८० सङ्क्रमित भेटिएका थिए । उहाँका अनुसार वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा सङ्क्रमण दर घटेको र प्रदेश नं १, प्रदेश नं २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने बढेको पाइएको छ ।

वागमतीमा १६ दशमलव ३१ प्रतिशत, गण्डकीमा १० दशमलव ८७ प्रतिशत र लुम्बिनी प्रदेशमा १९ दशमलव १ प्रतिशत सङ्क्रमणको दर घटेको छ । सबभन्दा बढी प्रदेश नं २ मा सङ्क्रमण दर फैलिएको छ । प्रदेश नं २ मा १०५ दशमलव १ प्रतिशतको दरले सङ्क्रमण बढेको छ । प्रदेश नं १ मा २६ दशमलव ८ प्रतिशत, कर्णालीमा २९ दशमलव १ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९ दशमलव ६ प्रतिशतले सङ्क्रमण दर बढेको पाइएको छ । उहाँले सङ्क्रमण दर कम भए पनि जनस्वास्थ्यका मापदण्ड पालना नगरे फेरि बढ्ने बताउनुभयो । 

यस्तै जिल्लागत रूपमा ५० जिल्लामा सङ्क्रमणको दर व्यापक रूपमा फैलिएको डा. श्रेष्ठकाे भनाइ छ । प्रति लाख जनसङ्ख्यामा २७ दशमलव ८ जनामा दैनिक मानिसमा सङ्क्रमण छ । उहाँले गएकाे वर्षभन्दा यस वर्ष तीन गुणाले सङ्क्रमणको दर फैलिएको जानकारी दिनुभयो । गएकाे वर्ष असोजमा प्रति दश लाख जनसङ्ख्यामा १३१ दशमलव ७ जनामा दैनिक सङ्क्रमणको दर रहेको थियो भने यस पटक जेठमा नै ३०७ दशमलव ६ जनामा सङ्क्रमणको दर रहेको उहाँको भनाइ छ । सङ्क्रमणको पोजिटिभ हुने दर पनि गएकाे वर्षभन्दा यस वर्ष दोस्रो लहरमा बढेको पाइएको छ । गएकाे वर्ष २५ दशमलव २ प्रतिशतमा पोजेटिभ दर र यस वर्ष ४६ दशमलव ७ प्रतिशत छ । इपिडिमियोलोजिस्ट डा. श्रेष्ठ सङ्क्रमणबाट ज्यान गुमाउने गएकाे वर्षभन्दा यस वर्ष बढी रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार यस वर्ष सङ्क्रमितमध्ये १ दशमलव ३१ प्रतिशतको ज्यान गएकाे र गएकाे वर्ष शून्य दशमलव ७५ प्रतिशतको ज्यान गएकाे थियो । अहिले हरेक उमेर समूहमा सङ्क्रमणको कारणले मृत्यु दर बढिरहेको उहाँको भनाइ छ । 

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले सबभन्दा बढी १० जिल्लामा सङ्क्रमणको जोखिम रहेको बताउनुभयो । उहाँका अनुसार काठमाण्डाै, रुपन्देही, ललितपुर, बाँके, भक्तपुर, मोरङ, कास्की, कैलाली, दाङ र चितवन रहेका छन् । उहाँका अनुसार काठमाण्डाै उपत्यकामा सङ्क्रमण घट्दै र उपत्यकाबाहिर बढ्दै गएको छ । सबभन्दा चैत अन्तिम हप्तादेखि जेठको पहिलो हप्तासम्म सबभन्दा द्रुत गतिमा सङ्क्रमण बढेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma