Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

शिवराज १ द्धारा ११ कृषकलाई पानी तान्ने मोटर वितरण


कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ ले एघार जना कृषकलाई पानी तान्ने मोटर वितरण गरेको छ । वडाले कृषि विकास कार्यक्रम अन्तर्गत बैकल्पिक सिचाईंका लागि कृषकहरुलाई ६०÷४० को लागत सहभागितामा मोटर वितरण गरेको हो । वडाध्यक्ष जगतबहादुर जि.सी.का अनुसार वडा कार्यालयको ६० प्रतिशत र कृषकहरुको ४० प्रतिशत लागत सहभागिता रहेको छ । आ.व. २०७७÷०७८ मा विनियोजित वडास्तरीय बजेट, नीति तथा कार्यक्रम अन्तर्गत उपभोक्ता समिति मार्फत कृषि पेशा अगाल्ने ११ जना कृषकहरुलाई मोटर वितरण गरिएको वडाध्यक्ष जि.सी.ले बताए ।

यसअघि ८ जना कृषकहरुले बोरिङ जडान गरिसकेको जि.सी.ले जानकारी दिए । कार्यक्रममा कृषि विकास कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष बालाराम बुढाले वास्तविक कृषकको पीडा र अभावमा मलमपट्टी लगाउनुपर्नेमा जोड दिए । सरकार कृषककहाँ धाउनुपर्नेमा कृषकहरु सरकारकहाँ धाउनुपर्ने उल्टो सिस्टमले वास्तविक कृषक राज्यको सेवा सुविधाबाट बन्चित हुनुपरेको समिति अध्यक्ष बुढाले गुनासो गरे ।


शिवपुर स्वास्थ्य चौकी इन्चार्ज लेखनाथ पौडेलले योजना पूर्ण रुपमा सफल बनाउन सहयोग र सहकार्य अपरिहार्य रहेको बताए । उनले टोलटोलको समूह मिलाएर वडास्तरीय समूह बनाएर वास्तविक कृषकलाई समेट्नुपर्ने सुझाव दिए । कार्यक्रममा उपस्थित सम्पूर्ण कृषकहरुको प्रतिनिधित्व गर्दै अगुवा कृषक चन्द्रमणी ज्ञवालीले राज्यले कृषकहरुप्रति हेर्ने दृष्टिकोष बदल्नुपर्नेमा जोड दिए । परम्परागत कृषि प्रणालीबाट पाठ सिक्दै आधुनिक कृषि उत्पादनमा जोड दिनुपर्ने ज्ञवालीले धारणा राखे । आफूले संगालेको अनुभव सुनाउँदै अगुवा कृषक ज्ञवालीले कृषिमा जैविक विषादीको प्रयोगमा जोड दिनुपर्ने बताए । उनले उत्कृष्ट कृषकलाई राज्यले प्रोत्साहन गर्ने सिस्टम बसाल्नुपर्ने जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma