Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

वैदेशिक रोजगारीमा समस्यामा परे यी नम्बरमा फोन गर्नुस्

काठमाडौं –  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको  समस्या समाधान गर्न गुनासो सुनुवाइ कक्ष(कल सेन्टर)को सुरु गरेको छ। पछिल्लो समय वैदेशिक रोजगारीका क्षेत्रमा ठगीका घटना बढेसँगै मन्त्रालयले कल सेन्टर स्थापना गरेको हो।

आइतवार श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सेन्टर उद्घाटन गरेका हुन्। सेन्टर  २४ सै घण्टा सञ्चालन हुने जनाइएको छ।

मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीको नाममा नागरिकलाई अलपत्र पार्ने जो सुकै संस्था वा व्यक्तिलाई कानुन बमोजिम कारवाहीको दायरामा ल्याउने र पीडितलाई न्याय दिलाउने प्रतिवद्धता व्यक्त गरे। पीडितको गुनासो सुनुवाइका लागि प्रतिउत्तर कार्य टोली तथा प्रहरीको समेत सहभागितामा मार्सल टोली गठन गरी दोषीलाई कारवाही गर्न सुरु गरिएको मन्त्री श्रेष्ठको भनाइ छ।

मन्त्रालयका सचिव एकनारायण अर्यालले कल सेन्टर तथा वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइ कक्षबाट वैदेशिक रोजगारीमा रहेका समस्या, गुनासो तथा सुझाव संकलन गरी प्राथमिकताका साथ समाधान गरिने बताए। 

पछिल्लो समय वैदेशिक रोजगारीको प्रलोभन देखाएर पर्यटन तथा अन्य भिसामा खाडी क्षेत्रका विभिन्न मुलुक, दक्षिण एसियाली मुलुक, युरोपेली तथा अमेरिकी मुलुक र अफ्रिकी महादेशका देशहरुमा गैरकानुनी रुपमा पुर्‍याएर नेपाली नागरिकलाई अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठ्यारोमा परेको भनी दिनहुँ गुनासो आउने गरेको छ। जसलाई व्यवस्थापन गर्न लागिएको मन्त्रालयले जनाएको छ। 

यसअघि पनि सञ्चालनमा रहेको कल सेन्टरलाई वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइ गर्न एकीकृत कक्षका रुपमा व्यवस्थित गरी सुरु गरिएको अधिकारीहरूको भनाइ छ। कल सेन्टर तथा वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइ कक्षमार्फत वैदेशिक रोजगारीमा रहेका समस्या, गुनासो तथा सुझाव संकलन गरी एकीकृत गरिने बताइएको छ। आएका समस्या तथा गुनासोलाई प्राथमिकताका आधारमा समाधान गरिने र सेवाग्राहीलाई गुनासो सुनुवाइको अवस्थाबारे जानकारी समेत दिइने बताइएको छ।

कल सेन्टर तथा वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइ कक्षमा आएका समस्या र गुनासोले सरकारलाई नीति निर्माणमा पनि सहयोग पुग्ने मन्त्री श्रेष्ठले बताए। वैदेशिक रोजगारीका नाममा हुने कुनै प्रकारको रकम संकलन, ठगी लगायतका क्रियाकलापमा संलग्न व्यक्ति, मेनपावर कम्पनी वा अन्य संस्था उपर वैदेशिक रोजगार ऐन, २०६४ र अन्य सम्बद्ध कानून वमोजिम पक्राउ गर्ने, अनुसन्धान गर्ने र आवश्यक कारवाही अगाडि बढाइने मन्त्रालयले जनाएको छ। 

यससम्बन्धी समस्या तथा गुनासो मन्त्रीको सचिवालयको मोबाइल नम्बर ९८२३२५६७०४, ९८२३२५६७०६ र मन्त्रालयमा रहेको कल सेन्टरको नम्बर +९७७१५९७००८ वा टोल फ्री नम्बर ११४१ मा सम्पर्क गरी गुनासो र समस्या टिपाउन सकिने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma