Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन ९ गते ‘क्यालिब्रेसन फ्लाइट’को तयारी

बुटवल – भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी फागुन ९ गते ‘क्यालिब्रेसन फ्लाइट’ गर्ने तयारी गरिएको छ। शनिवार विमानस्थलको निरीक्षणपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आउँदो बुद्ध जयन्तीभन्दा अगावै अन्तर्राष्ट्रिय उडान भर्न अब मौसमको खराबी बाहेक अरु कुनै कुराले नरोक्ने बताएका थिए।

‘मौसमले साथ दिएमा फागुन ९ गते क्यालिब्रेसन फ्लाइट र बुद्ध जयन्तीमा अन्तर्राष्ट्रिय उडान हुन्छ,’ मन्त्री आलेले भनेका छन्।

मन्त्री आलेले ढिलाइ नगर्न र क्यालिब्रेसन फ्लाइट नगरेसम्म मन्त्रालय, क्यान र आयोजनाका पदाधिकारी, टिम सदस्य दिनरात काममा खटिनसमेत निर्देशन दिए। हुस्सु, कुहिरो र भिजिबिलिटी कम भएको बेला भने क्यालिब्रेसन फ्लाइट गर्न नमिल्ने प्राविधिकले बताएका छन्।

यो विमानस्थलप्रति विश्वकै ध्यानाकृष्ट भएको भन्दैमा मन्त्री आलेले विमानस्थल सञ्चालनमा ल्याउन अब कुनै पनि खालको बिलम्ब हुन नहुने बताए।

नेपाल नागरिक उड्ययन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले मौसम अनुकूल बन्दै गए ढिलोमा पनि परीक्षण उडानका लागि थाइल्याण्डदेखि आउँदो फागुन ९ गतेसम्म विमान नेपाल अवतरण हुने गरी कार्यतालिका तयार पारिएको बताए। यदि सम्भव भएमा त्यो भन्दा अगाडि पनि विमान नेपाल आउन सक्ने उनले बताए।

परीक्षण उडानका लागि विमानसहित मौसम, सञ्चार र विमानको दिशा पत्ता लगाउने लगायतका निर्माण कार्यको जिम्मा लिएको थाइल्याण्डको सरकारी विमान कम्पनी एरोथाइ कम्पनीका नेपाल प्रतिनिधि बिजेन्द्र श्रेष्ठले एरोथाइ कम्पनीका तर्फबाट विमानस्थलमा जडान गरिएका उपकरण र ग्राउन्ड चेकको काम जारी रहेको जानकारी दिए।

नेपालको विगत तीन वर्षको मौसमको अवस्थालाई विमानस्थलमा परीक्षण उडान सञ्चालन तयारीका लागि आइपुगेको थाइल्यान्डको टिमले अध्ययन गरिरहेको र फ्रेबुअरीको दोस्रो सातादेखि मौसम सुधार आउने देखिएकाले २१ तरिखमा परीक्षणको विमान ल्याउने तयारी गरिएको उनले बताए।

‘क्यालिब्रेसन फ्लाइटका लागि सफा मौसम चाहिन्छ। कम्तीमा पाँच किमी भिजिबिलिटी आवश्यक पर्छ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma