Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

गृहमन्त्री खाँडद्वारा हिमपात तथा हावाहुरीबाट प्रभावितलाई राहत दिन निर्देशन

काठमाण्डौ – गृहमन्त्री बालकृष्ण खाँडले तराईमा हावाहुरीका कारण ज्यान गुमाएका तीन जनाको परिवार र उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातका कारण प्रभावित नागरिकको उचित व्यवस्थापन एवम् राहत उपलब्ध गराउन निर्देशन दिनुभएको छ ।

गृहमन्त्री खाँडले मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव प्रदीपकुमार कोइराला तथा तराईका दुई, हिमाली क्षेत्रका आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीलाई हिमपात तथा हावाहुरीका कारण समस्यामा परेकालाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिनुभएको हो ।

शुक्रवार दिउँसो धनुषाको सबैला नगरपालिका(१२ मा रुखको हाँगा भाँचिदा महेन्द्र सदाकी ८ वर्षीय छोरी प्रतिमाकुमारी र चन्द्रशेखर सदाका ७ वर्षीय छोरा अरबिन्दको ज्यान गएको थियो ।

गृहमन्त्री खाँडले आज बिहान सहायक प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारी र जिल्ला प्रहरी प्रमुख वसन्त रजौरेलाई बच्चाको अन्त्येष्टि र अन्य आवश्यक राहतको व्यवस्था मिलाउन निर्देशन दिनुभयो ।

त्यस्तै शुक्रवारै रौतहटको बुधिमाई नगरपालिका(१ मा कच्ची घर ढलेर भित्ताले च्याप्दा राममङ्गल रायकी श्रीमती ४५ वर्षीया फुलमतियादेवीको ज्यान गएको थियो । गृहमन्त्री खाँडले रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही र प्रहरी उपरीक्षक विनोद घिमिरेलाई आवश्यक राहतको व्यवस्था गर्न निर्देशन दिनुभयो ।

गृहमन्त्री खाँडले महाशाखा प्रमुख कोइरालालाई हिमाली जिल्लाको हिमपात र तराईमा हावाहुरी र शीतलहरबाट प्रभावितलाई राहत र अन्य आवश्यकीय कार्यका लागि सतर्क रहन निर्देशन दिनुभएको छ ।

त्यस्तै मन्त्री खाँडले प्रमुख जिल्ला अधिकारीहरु दीर्घराज उपाध्याय दार्चुला, विजयाकुमारी प्रसाईँ जुम्ला, गणेश आचार्य हुम्ला, शङ्करहरि आचार्य गोरखा, उमेश पाण्डे ताप्लेजुङ, गणेशबहादुर शाही सोलुखुम्बु, दिलकुमार तामाङ ओखलढुङ्गा र फणिन्द्र दाहाल खोटाङलाई हिमपातको असरबारे जानकारी दिँदै प्रभावितको व्यवस्थापनमा जुट्न निर्देशन दिनुभएको छ । त्यस्तै डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपालीसँग पनि जिल्लाको अवस्थाबारे जानकारी लिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma