Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

चुनावको मिति घोषणामा ढिलाइ हुँदा आयोगलाई चुनौती थपिंदै

काठमाण्डाै – सरकारले चुनावको मिति घोषणामा ढिलाइ गर्दा निर्वाचन आयोगलाई मतदाता नामावली अद्यावधिक लगायतका काममा चाप बढ्ने भएको छ । मिति घोषणा हुनुभन्दा पहिलेसम्म नामावली संकलन गर्नुपर्ने कानुनी व्यवस्था रहेको र त्यसपछि मात्रै नाम अद्यावधिक गर्नुपर्ने भएकाले त्यो काम सुरु गर्न नपाएको आयोगको भनाइ छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नामावली संकलन, मतदानस्थलहरुको निर्धारण, सम्बन्धित निकायसँगको समन्वयको काम नियमित भइरहे पनि मिति घोषणा नहुँदा अरु चुनावी प्रक्रिया अघि बढाउन नपाएको बताउनुभयो । उहाँले मिति घोषणामा ढिलाइ हुँदा आयोगलाई समयमै चुनावी प्रक्रिया अघि बढाउन चुनौती थपिएको बताउनुभयो । अघिल्लो वर्ष पुसदेखि मतदाता नामावली अद्यावधिक भएको छैन । यसबीचमा झण्डै १५ लाख नयाँ मतदाता थपिएकाले त्यसको अद्यावधिक गर्न समय लाग्ने उहाँले बताउनुभयो । यस्तै पालिकासँग समन्वयदेखि चुनावका अरु प्रक्रिया सुरु गर्न पनि पहिले मिति घोषणा हुनुपर्ने उहाँको भनाइ छ ।

गएको मंगलबार आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको छलफलमा जेठ ४ गते चुनाव गर्ने समझदारी भएको थियो । प्रधानमन्त्री देउवाले छिटै निर्णय गर्ने बताउनु भए पनि अहिलेसम्म मिति घोषणा भैसकेको छैन । यसबारे मन्त्रिपरिषद बैठकले निर्णय गर्ने अपेक्षा छ ।

हरेक सोमबार र बिहीबार मन्त्रिपरिषदको बैठक बस्ने गर्छ । तर अघिल्लो बिहीबार मन्त्रिपरिषद् बैठक बसेन । भोलि बस्ने मन्त्रिपरिषद बैठकले मिति घोषणा गर्न सक्ने आयोगले विश्वास गरेको छ । सामान्यतया चुनावको मिति घोषणा भएपछि आवश्यक तयारीको लागि १ सय २० दिन चाहिने आयोगले भन्दै आएको छ । तर जेठ ४ गते आउन अब एकसय दिन मात्रै बाँकी छ । २०७४ वैशाख ३१ गते, असार १४ गते र असोज २ गते गरी तीन चरणमा भएको स्थानीय तहको चुनावबाट निर्वाचिन पदाधिकारीहरुको पदावधि आउँदो जेठ ५ गते सकिँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma