Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

प्रचण्डलाई ओलीको जवाफ : एमसीसीबारे पहिला आफूले निर्णय गर्नुस्, एमालेले त निर्णय गरिहाल्छ

काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी पारित गर्छु भनेर अमेरिकासँग गरेको प्रतिबद्धता पूरा गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिनुभएको छ ।

हिजो बेलुकी प्रचण्डले ओलीलाई टेलिफोन गरेर एमसीसीबारे निर्णय गर्न आग्रह गर्नुभएको थियो । जवाफमा ओलीले एमसीसी पारित गर्ने जिम्मेवारी सरकारको भएको बताउनुभएको हो । एमसीसीमा तपाईँले निर्णय नगरि भएन भन्दै हिजो बेलुका फोन गरेपछि ओलीले पहिले आफू नै यसबारे स्पष्ट हुन प्रचण्डलाई आग्रह गर्नुभएको थियो ।

‘तपाईँहरुले पहिले ओलीलाई हटाएपछि एमसीसी पारित गर्छौँ भनेर वचन दिनुभएको छ, अनि हटाइसकेपछि ४–५ महिनामा पारित गर्छौँ भनेर लिखित कागज नै गर्नुभएको रहेछ । अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधि सभामा एक सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नुस्, एमालेले त निर्णय गरिहाल्छ’ ओलीको जवाफ उदृत गर्दै एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सामाजिक सञ्जालमा लेख्नुभएको छ।

पछिल्लोपटक एमसीसी पारित गर्ने प्रतिबद्धतासहित प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर अमेरिकालाई पठाएको पत्र सार्वजनिक भएपछि प्रचण्ड अप्ठ्यारोमा हुनुहुन्छ ।

यसअघि हिजै अमेरिकी सहायक मन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छुट्टाछुट्टै फोन गरी एमसीसीबारे आउँदो फागुन १६ गतेभित्र निर्णय गर्न भन्नुभएको थियो । साथै फोनवार्तामा लुले एमसीसी फिर्ता हुने अवस्थामा नेपाल नीति पुनर्विचार गर्ने र यसलाई चीनको हस्तक्षेप ठान्ने पनि बताउनुभएको छ ।

नेपाली कांग्रेस एमसीसी अगाडि बढाउनुपर्ने निष्कर्षमा पुगेको छ । माओवादी केन्द्र अझै अलमलमा छ । प्रमुख प्रतिपक्ष दल एमालेले यसबारे पहिले सत्तारुढ दल स्पष्ट हुनुपर्ने भन्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma