Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

संसदमा आजदेखि एमसीसीमाथि छलफल, सभामुखले मत विभाजन प्रस्ताव अघि बढाउने सम्भावना

काठमाण्डाै – अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पाेरेशन एमसीसीबीच भएको अनुदान सहायता सम्झौतासम्बन्धी प्रस्तावमाथि संसदमा आजदेखि छलफल सुरु हुने भएको छ । प्रतिनिधि सभाको आज दिउँसो एक बजे बस्ने बैठकमा एमसीसी प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची तय भएको छ ।

गएको आइतवार बसेको बैठकमा एमसीसी टेबल भएको थियो । एमसीसी सम्झौताको पक्षमा रहेको सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई आजको संसद् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले पनि संसदमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई निर्देशन दिएको छ ।

लोसपाको हिजो बसेको संसदीय दलको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । तर सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमोर्चा एमसीसीको विपक्षमा छन् । एमसीसी सम्झौता संसदबाट पारित गर्न कांग्रेस र लोसपा तयार भएपछि सत्ता गठबन्धनका माओवादी, एकीकृत समाजवादी र जनमोर्चालाई पनि दबाब बढेको छ ।

प्रतिनिधि सभामा एमसीसी सम्झौतालाई अघि बढाउने विषयमा सत्ता गठबन्धन दलमा विवाद भए सभामुख अग्निप्रसाद सापकोटाले नै मत विभाजन प्रस्ताव अघि बढाउने सम्भावना छ । सभामुख सापकोटाले यसबारेमा हिजो संसद् सचिवालयका कर्मचारी र पदाधिकारीसँग परामर्श समेत गर्नुभएको छ ।

सभामुखले ध्वनि मतको आधारमा निर्णय गर्दा यकिन नहुने भएकाले मत विभाजनको बाटो रोज्न सक्ने कानुनी आधार खोज्नुभएको हो । त्यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आफ्ना माग पूरा भएपछि मात्रै संसदमा अवरोध नगर्ने र एमसीसीका बारेमा निर्णय लिने बताउँदै आएको छ । यसैगरी आजको संसद् बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस गर्नुहुने कार्यसूची तय गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma