Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

युक्रेनमा रहेका नेपालीलाई अहिले बसिरहेकै ठाउँमा सुरक्षित बस्न दूतावासको आग्रह

काठमाण्डाै – रुसले युक्रेनमा आक्रमण गरेपछि त्यहाँ रहेका नेपाली समस्यामा परेका छन् । युक्रेनको हवाई क्षेत्र अल्पकालीन रुपमा बन्द भएपछि उनीहरु थप समस्यामा परेका हुन् ।

हवाईमार्गबाट तत्काल युक्रेन छोड्न सम्भव नहुने भएको छ । जर्मनीमा रहेको नेपाली दूतावासले युक्रेन र रुसबीच विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राखेर संयमता अपनाइ अहिले बसोबास गरिरहेको ठाउँमै घरभित्रै सुरक्षित बस्न अनुरोध गरेको छ ।

युक्रेन सरकार र सम्बन्धित कलेज/विश्वविद्यालय तथा कम्पनीले जारी गरेको निर्देशनको पूर्ण पालना गर्न, सम्भव भएमा सडक तथा रेलमार्गबाट युक्रेनकै पश्चिमतर्फका सुरक्षित ठाउँमा जान, राहदानी, परिचयपत्र, बैंकको कार्डलगायत कागजात आफ्नो साथमा राख्न र साथीभाइ तथा परिवार र नियोगसँग निरन्तर सम्पर्कमा रहन पनि आग्रह गरेको छ । युक्रेनको पछिल्लो घटनाक्रमबारे नियमित जानकारी राख्न र आवश्यक परेमा नेपाली दूतावासमा सम्पर्क गर्न पनि भनिएको छ ।

युक्रेनका सबै भूभागमा गरी झण्डै दुई सय नेपाली नागरिक रहेको विवरण छ । तीमध्ये ७ जना पूर्वी युक्रेनमा छन् । अहिलेसम्म १ सय ५० नेपाली सम्पर्कमा आएको र तत्काल उद्धार गर्नसक्ने अवस्था नरहेको युक्रेनका लागि नेपाली राजदूत रामकाजी खड्काले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma