Home प्रदेश समाचार, समाचार भैरहवामा उडान गर्ने कुवेती कम्पनीको माग ‘छलफलमा’,
प्रदेश समाचारसमाचार

भैरहवामा उडान गर्ने कुवेती कम्पनीको माग ‘छलफलमा’,

भैरहवा-भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी वैशाख २ गतेबाट उडान सुरु गर्ने एउटा विदेशी वायुसेवाको प्रस्ताव अहिले “छलफलकै चरणमा रहेको” नेपाली उड्डयन अधिकारीहरूले बताएका छन्।

उनीहरूका भनाइमा त्यसबारे चाँडै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्णय गर्नेछ।सीधै भैरहवामा जहाज अवतरण गर्ने खालको हवाई मार्गका लागि भारतसँग “कूटनीतिक पहल जारी” रहेको बताइएका बेला सञ्चालन हुन लागेको उक्त विमानस्थलले विभिन्न चुनौती सामना गर्नुपर्ने हुनसक्ने कतिपय विज्ञको धारणा छ।

यद्यपि अधिकारीहरू हाललाई उक्त विमानस्थलमा पनि पहिलेकै हवाई मार्गबाट आएका विमानहरू अवतरण गर्न मिल्ने बताउँछन्।”जजीरा एयरवेजको बाङ्ग्लादेश र नेपाल हेर्ने क्षेत्रीय प्रबन्धकले हामीलाई पत्र लेख्दै वैशाख २ गतेदेखि साताको सातवटा चार्टरमा आधारित उडानहरू गर्न माग गरेका छन्,” नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्र लाल कर्णले भने।

“अब यसको प्रक्रिया के हुन्छ भने सुरुमा मन्त्रालयले अनुमति दिन्छ। त्यसपछि हामी अनुमति दिन्छौँ। यो प्रस्तावबारे अहिले छलफल भइरहेको छ, निर्णय भइसकेको छैन।”

उनका अनुसार उक्त विमान कम्पनीले भैरहवाबाट कुवेत सिटीमा सीधै उडान गर्नका लागि अनुमति मागेको हो।अन्य कम्पनीहरूले पनि चाँडै त्यस्तै प्रस्ताव गर्ने प्राधिकरणको अपेक्षा रहेको उनले बताए।

“अरू कम्पनीहरूले आफ्नो योजना बनाइरहेका होलान् तर हामी जजीराले अलि पहिले नै इच्छा देखाइसकेकाले हामी उत्साहित भएका छौँ।”उक्त विमान कम्पनीले हाल काठमाण्डू-कुवेत दैनिक उडान गर्दै आएको छ।

Facebook Comments Box
Shares

Author

मोफसल खबर