काठमाडौँ – नेपाल विद्युत प्राधिकरणले भारतबाट चर्को मूल्यमा विद्युत खरिद गर्ने भएको छ । प्राधिकरणका अनुसार प्रतियुनिट २० भारु (३८ रुपैयाँ) मा नेपालले भारतको बिजुली किन्ने गरी सहमति भएको छ । भारतले युक्रेन संकटको कारण देखाउँदै अस्वभाविक मूल्य बढाएको हो ।
नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले आज पत्रकार सम्मेलनमार्फत भारतसँग अहिलेसम्मकै उच्च मूल्यमा विजुली खरिद गर्ने गरी बोलकबोल गरेको जानकारी दिनुभयो । भट्टराईले आज राति १२ बजेर १५ मिनेटदेखि नेपालमा भारतको बिजुली उपलब्ध हुने बताउनुभयो ।
अघिल्लो वर्ष यही समयमा ८०० मेगावाट विजुली भारतबाट आयात भएको थियो । प्राधिकरणका अनुसार अहिले भने ३५० मेगावाट मात्रै आयात भइरहेको छ । भारतबाट खरिद गरिएको बिजुली उद्योगहरुलाई दिएर आपूर्ति सुचारु गरिने प्राधिकरणले बताएको छ । विद्युत अभावका कारण प्राधिकरणले उद्योगहरुलाई दिने बिजुलीमा कटौती गरेको थियो ।
नेपालले केही दिनअघिसम्म ८ रुपैयाँ भारुमा विजुली किनेको थियो । तर भारतमा ऊर्जाको मूल्य एक्कासी बढेको र सस्तो मूल्यमा प्रस्ताव गर्दा विजुली नै नपाएको हुनाले केही दिन नेपालमा विजुली अभाव भएको भट्टराईले बताउनुभयो ।
उत्पादनमूलक उद्योगहरूमा बिजुली आपूर्ति रोकिएपछि चौतर्फी विरोध खेपेको विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लोडसेडिङ सुरू नभएको प्रष्टिकरण दिनुभएको छ । प्राधिकरणका प्रबन्ध निर्देशक घसिङले भन्नुभयो, ‘भारतमा बिजुलीको मूल्य बढेकाले हिजो आयातमा समस्या भएको हो । त्यो लोडसेडिङको सुरुवात होइन ।’
उहाँले हिजो प्राधिकरणले अर्डर गरेको मूल्यमा बिजुली किन्न नपाउँदा आपूर्तिमा समस्या भएको बताउनभयो । हिजो देखिएको समस्या अल्पकालिन भएको र त्यो समाधान भइसकेकाले उद्योगहरूको आपूर्ति सहज बनाउँदै लगिने घिसिङको भनाइ छ । उहाँले अहिले नेपालको बिजुली उत्पादनमा ‘ड्राई’ सिजन चलिरहेकाले माग धान्न भारतबाट आयात गर्नुपर्ने स्थिती रहेको बताउनुभयो ।
प्रतिक्रिया