Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा, करण केसीको ह्याट्रिक

काठमाडौं – आयोजक नेपाल लगातार तेस्रो जित निकाल्दै त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ ।

करण केसीले ह्याट्रिक विकेट लिएको खेलमा बिहीबार पपुवा न्युगिनी (पीएनजी) लाई ३७ रनले हराउँदै नेपाल एक खेल अगाबै फाइनल पुगेको हो ।

यससँगै नेपालले आफ्नो ५० औं टी-ट्वान्टी अन्तराष्ट्रिय खेलमा सुखद नतिजा निकालेको छ ।

त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ६६ रन मात्र बनाउन सक्यो ।

पीएनजीका चार्ल्स अमिनीले सर्वाधिक ६२ रनको अर्धशतकीय इनिङ खेले । उनले ४७ बलमा ९ चौका प्रहार गरे ।

खराब सुरुवात गरेको पीएनजीलाई तेस्रो विकेटको लागि चार्ल्स अमिनी र टोनी उराले ८४ रनको साझेदारी गरेपछि खेलमा फर्काएका थिए ।

२२ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै आक्रामक ४३ रन बनाएका टोनी उरालाई सोमपालको ओभरमा आउट भए।

पहिलो ओभरमा करण केसीले लेगा सिएकालाई आउट गर्दै बलिङमा राम्रो सुरुवात दिलाए । कारणले लेगालाई १ रनमा आउट गर्दा टी(ट्वान्टी अन्तराष्ट्रियमा आफ्नो ५० विकेट पूरा गरे ।

सन्दीप लामिछानेपछि टी(ट्वान्टी अन्तराष्ट्रियमा ५० विकेट लिने करण पहिलो नेपाली खेलाडी बने ।

तेस्रो ओभरमा १३ रन बनाएको पीएनजीलाई करणले दोस्रो झट्का दिए । उनले कप्तान असद भालालाई १ रनमा आउट गर्दै नेपाललाई सानदार सुरुवात दिलाए । नोरमान भानुअले १७ रन बनाउँदा सेसे बाउले २५ रनको योगदान गरे। रिले हेकुरे ६ र चाड सोपर २ रनमा आउट भए ।

नेपालको जितमा करणले ह्याट्रिकसहित ५ विकेट लिए । उनले १९ औं ओभरको दोस्रो, तेस्रो र चौंथो बलमा विकेट लिदै ह्याट्रिक पूरा गरे ।

अविनास बोहरा र सोमपाल कामी समान २-२ विकेट लिए । सन्दीप लामिछानेले १ विकेट हात पारे ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो ।

दिपेन्द्र सिंह ऐरी र डेब्यु खेलाडी आदील अन्सारीले आक्रामक इनिङ खेलेपछि नेपालले २ सय रनको स्कोर पार गरेको हो ।

नेपालले अन्तिम ३ ओभरमा ६० रन जोड्यो । दिपेन्द्रले ३३ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ६६ रनको आक्रामक अर्धशतकीय इनिङ खेले ।

यस्तै आदीलले ११ बलमा ३ छक्का र १ चौका प्रहार गर्दै ३१ रन बनाए ।

त्यस्तै रोहित पौडेलले २३ बलमा २ छक्का र ४ चौकाको मद्दतमा ४१ रन जोडे । आसिफ शेखले २९ बलमा ३८ रन बनाउँदा कुशल भुर्तेलले १७ रनको योगदान गरे ।

पीएनजीका काबुअ मोरेअले ३ विकेट लिए । उनले अन्तिम ओभरमा नेपालको ३ विकेट लिएका थिए । यस्तै रिले हेकुरेले २ तथा नोरमान भानुअ र नोसाइना पोकानाले समान १र१ विकेट लिए ।

जितसँगै नेपालले ३ खेलमा ६ अंक जोडेको छ । नेपाल तालिकाको शीर्ष स्थानमा रहेको छ ।

सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले हराएको थियो ।

यस्तै नेपालले दोस्रो खेलमा बुधबार मलेसियालाई ६ विकेटले हराएको थियो ।

पीएनजीले ३ खेलमा अंक जोड्न सकेको छैन । पीएनजी पुछारमा रहेको छ ।

मलेसिया २ खेलमा २ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma