Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

पशुपति धर्मशालामा सञ्चालित होटल आनन्दमा सरकारको ताला

काठमाडौँ – पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्द बन्द गराएको छ । सरकारको निर्णय गैरकानुनी भएको भन्दै क्षतिपूर्ति दाबी गर्दै अदालत पुगेको भोलिपल्टै सरकारले ताला लगाएको हो । होटल खाली गर्न सूचना लिएर गएको कोषको टोलीलाई बतास समूहको होटल आनन्दका कर्मचारीले गेटमै रोकेपछि कोषले गेटमै ताल्चा लगाएको हो ।

करिब २ घण्टाको घम्साघम्सीपछि पनि होटल सिल गर्न गएको सरकारी टोली भित्र छिर्न नपाएपछि कोषले बाहरिबाटै होटलमा ताला लगाएको छ । कोषले गेटमै सूचना टाँसेर होटलमा सामग्री नचलाउन सूचित गरेको छ । बतास समूहका प्रतिनिधिले कानुनी उपचारमा रहेकाले सर्वोच्चको अन्तिम फैसला कुर्न आग्रह गरेका छन् । तर सरकारी प्रतिनिधिहरुले भने आफूहरुले आफ्नो सम्पत्ति हेर्न पनि नपाउने भन्दै गेट खोल्न आग्रह गरेका थिए ।

सम्झौताअनुसार काम नभएको भन्दै कोषले १७ चैतमा बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटल आनन्द प्रालिसँग भएको सम्झौता भंग गर्ने निर्णय गरेको थियो । तर बतास समूहले कोषको पत्र बुझ्न मानेको थिएन ।

त्यसपछि गत सोमबार पशुपति क्षेत्र विकास कोषले होटल आनन्द सञ्चालन गरिएको पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना निकालेको थियो । सूचनामा धर्मशालामा रहेका सरसामान हटाउन भनिएको थियो । त्यसैले कोषले धर्मशाला खाली गराउनप्रयत्न गरेपनि बतास समूहले मानेको छैन ।

यता सो समूहका अध्यक्ष आनन्द बतासका अनुसार पशुपतिस्थित होटल आनन्दसँगको सम्झौता रद्द गर्ने सरकारको निर्णयले २५ करोड रुपैयाँ क्षति पुगेको छ । सो क्षति पूर्तिको माग गर्दै बतास समूह अदालत पुगेको छ । बिहीबार जिल्ला अदालत काठमाडौंमा २५ करोड रुपैयाँ क्षतिपूर्तिसहितको मुद्दा दायर गरेको बतासले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma