Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

अध्ययन खर्च जुटाउन महुवा संकलन

कपिलवस्तु – अध्ययन खर्च जुटाउन महुवा संकलन

गेलबारमै विद्यालयमा अध्ययनरत बालबालिकाले पढाइखर्च जुटाउन महुवा संकलन गर्ने गरेका छन्। गाउँकै आदर्श बोर्डिङ स्कुल कक्षा ८ मा अध्ययरत रोशन थारुले आफूहरूले पढाइखर्च जुटाउन महुवाको फल संकलन गर्ने गरेको बताए। आफूहरू जस्तै थुप्रै बालबालिकाले पढाइखर्चका लागि २ सातादेखि महुवा संकलन गरिहरेको उनले बताए। ‘१५र२० दिन बिहान गरेको मिहिनेतले तीनरचार हजार कमाइन्छ,’ रोशनले भने, ‘त्यही पैसाले कापी कलम, ड्रेस किन्ने गरेका छौं,’ उनले भने। आफूहरूले गरेको यो सानो मिहिनेतले बुवाआमालई सघाउने गरेको उनले बताए।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४ गेलबार गाउँका स्थानीय यति बेला घरखर्च जुटाउन भन्दै गाउँछेउमा रहेको वनमा महुवा संकलनमा व्यस्त छन्। गाउँकै छेउमा रहेका वनमा रहेका महुवाको रुखमुनि सामूहिक महुवा संकलन गर्ने गरेका छन्। महुवा वनमा पाइने एक प्रकारको जटीबुटी हो। खास गरी यो रक्सी बनाउन प्रयोग गरिने स्थानीय बताउँछन्।

महुवाको रुखमा फुलेका फूल पाकेपछि आफैं झर्ने गर्दछ। त्यही काँचो फूल नै संकलन गर्ने गरिन्छ। सामूहिक महुवा संकलनमा जुटेका स्थानीय तिलकराम खनालले चैत दोस्रो सातादेखि नै गाउँका १ सय ३० जनाको समूहले महुवाको संकलन गर्दै आएको बताए। महुवाको फूल चैत र वैशाखमा झर्ने गर्दछ। त्यही झरेको फूल नै आफूहरूले संकलन गर्ने गरेको खनाल बताउँछन्। गेलबारनजिक रहेको महुवाको रुखमुनि बिहानको समयमा एकै साथ महुवा संकलन गर्ने गरिएको छ।

स्थानीय रूपमा घरमै बनाइने महुवाको रक्सीको माग गाउँबजारमा उच्च रहेकाले ठेकेदारहरू महुवा किन्न घरमै आउने गरको खनालले बताए। ‘महुवा संकलन गर्न मात्र गाह्रो छ, बेच्न भने निकै सजिलो छ,’ उनले भने, ‘ठेकेदारहरूले घरमै आएर महुवा किनेर लागने गर्छन्। झरेको महुवाको फूललाई घाममा सुकाएपछि बेच्ने गरिन्छ। खनालका अनुसार सुकेका महुवा प्रतिकिलो सयका दरले बिक्री हुने गरेको छ। स्थानीय सम्झना थारुले सामूहिक महुवा संकलनमा अधिकांश थारु समुदाय छन् भने पहाडिया समुदाय पनि यो समूहमा रहेको बताइन्। घर खर्चका लागि आफूहरूले प्रत्येक वर्ष चैत र वैशाख महिनामा महुवा सकलन गर्ने गरेको बताइन्।

संकलन गरेको महुवालाई एक ठाउँमा जम्मा गरिन्छ। संकलन भएको महुवा १ सय ३० जना लाइन नै भाग लगाएर बाँड्ने गरिन्छ। एक दिनमा ३० देखि ५० किलोसम्म काँचो महुवा संकलन हुने गरेको उनले बताइन्। एक महिनामा संकलन मिहिनेतबाट प्रत्येकले चारदेखि पाँच हजार आम्दानी गर्ने गरेको सम्झनाले बताइन्। ‘महुवा बेचेर आएको कमाइले तेल, नुन, मसलालगायत घरखर्च जुटाउँछौं,’ उनले भनिन्। घरखर्च जुटाउन महुवा आफूहरूका लागि सहयोगी बनेको उनले बताइन्। वनमा महुवा संकलन गरेबापत आफूहरूले गाउँमा गठित टोल सुधार समितिलाई दुई सय रूपैयाँ चन्दासमेत दिने गरेका गाउँहरू बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma