Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

नेकपा एसको घोषणापत्र : २०० युनिट बिजुली निःशुल्क, किसानको जीवनमा बहार !

काठमाडौँ-  नेकपा एकीकृत समाजवादीले आगामी स्थानीय तहको निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित समारोहमा अध्यक्ष माधव नेपालले पार्टीको केन्द्रीय घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।

घोषणापत्रमा ‘हाम्रो विद्रोह, पार्टी पुनर्गठन र स्थानीय सरकारसम्बन्धी दृष्टिकोण’ बुँदामा एमालेसँग विद्रोह गर्नुको कारण उल्लेख गरिएको छ । त्याग र बलिदानको जगमा निर्माण भएको पार्टीबाट विद्रोह गर्नु हाम्रो रहर थिएन, बाध्यता थियो । कम्युनिस्ट विचार, सिद्धान्त, आचरण र कार्यशैलीबाट च्युत भएको नेतृत्वलाई सुधार्न नसकिने अवस्थामा विद्रोह नगरेको भए कम्युनिस्ट आन्दोलन जोगाउन सकिने थिएन भन्ने हाम्रो निष्कर्ष छ’, भनिएको छ ।

घोषणापत्रमा विगत (एमाले)मा छँदा ‘स्थानीय विकासबारे विगतका हाम्रा प्रयासहरू’ शीर्षक दिएर विगतका कामहरुको स्मरण गराइएको छ। ’कमरेड मनमोहन अधिकारीको नेतृत्वमा गठित २०५१ सालको नौ महिने सरकारको सबैभन्दा लोकप्रिय र जनजनका मनमस्तिष्कमा बस्न सफल कार्यक्रम हो, ‘आफ्नो गाउँ आफै बनाऔँ’ । यो कार्यक्रम नेपालको स्थानीय विकासका क्षेत्रमा आधारभूत परिवर्तन ल्याउने युगान्तकारी कदम थियो’, घोषणापत्रमा भनिएको छ ।

आगामी दिनका लागि पनि विभिन्न प्रतिबद्धताहरु व्यक्त गरिएका छन् । जनताको अधिकार : निःशुल्क स्वास्थ्योपचार; शिक्षामा सुधार : प्रगतिको आधार; निःशुल्क खानेपानी:सुखी जिन्दगानी; प्रत्येक घरपरिवारलाई २०० युनिट निःशुल्क बिजुली; संरक्षित कृषिबजार: किसानको जीवनमा बहार; घरेलु तथा ग्रामीण उद्योग, आत्मनिर्भताको प्रयोग; उद्यमशीलता विकासका लागि विशेष योजना; पालिकामा युवा विभाग; हरेक वार्डमा खेल मैदान; खेलाडीहरूलाई सम्मान र पुरस्कारको व्यवस्था; हरेक पालिकामा सुविधासम्पन्न पुस्तकालय; फोहर बन्ने छ मोहर: सफा गाउँसहर; सडक सञ्जाल: विकास निर्माणको पूर्वाधार; जातीय छुवाछुत मेटाऔँ: मानव मर्यादा कायम गरौं !; सामाजिक विकासका लागि साहित्य, कला र संस्कृति; बालबालिका विशेष कार्यक्रम; ज्येष्ठ नागरिकको सम्मान: समुदायको सान जस्ता नाराहरुका साथ विभिन्न योजनाहरु सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma