Developed By Kuldeep Sharma

५ महिना अगाडि

किन बदलिइरहन्छ श्रीमतीको मुड ?

काठमाडौं – बिहान श्रीमान् आफ्नो कामधन्दाले घरबाहिर निस्कने बेला श्रीमतीको मुड ठीकठाक थियो । उनी फुरुंग थिइन् । साँझ घर फर्किंदा ठुस्स हुन्छिन् ।

अघिल्लो रात श्रीमती यसै उदास थिइन् । बिहान त उनी फूर्तिली देखिइन् । श्रीमानसँग कुनै विवाद भएको थिएन । विसञ्चो पनि थिइनन् । आर्थिक कुराले पनि खासै पिरोलेको थिएन । सबै ठीकठाक थियो । तर श्रीमतीको मुड किन ठीकठाक छैन ?

कहिले यसै दंग हुन्छिन्, कहिले झर्को मान्छिन् । कहिले उत्साहित हुन्छिन्, कहिले दुःखी । आखिर मौसम जस्तै किन बदलिरहन्छ श्रीमतीको मुड ?

सम्भवतः अधिकांश पुरुषको मनमा उब्जिने प्रश्न हो यो । श्रीमानको मुड त्यसरी पलपलमा परिवर्तन भएको हुँदैन । तर श्रीमतीको मुड सधैं एकनास रहँदैन । यस्तो क्षणमा श्रीमानले सोच्छन्, ‘मेरी श्रीमतीको बानी नै यस्तै छ । उनी कुनबेला रिसाउँछिन्, कुनबेला खुसी हुन्छिन् थाहा नै हुँदैन ।’

यो कुनै एक महिलाको मात्र स्थिति होइन । महिलाको भावनात्मक स्थिति सधैं एकनास रहँदैन । किनभने उनीहरुको शरीर संरचना र हर्मोनको अवस्थाले महिलाहरुमा भावनात्मक उथलपुथल भइरहन्छ । यो एक महिला शरीरको जैविक प्रवृत्ति नै हो । तर हामी उनको भावनात्मक स्थितिलाई हेरेर मात्र मूल्यांकन गर्छौं,  उनको शरीरभित्र कस्तो उथलपुथल छ बुझ्ने धैर्यता राख्दैनौं ।

महिनावरी चक्र, गर्भधारण, दूधका ग्रन्थीहरुको विकास जस्ता अनेक कुराले महिलाको शरीरमा मात्र होइन, भावनात्मक अवस्थामा पनि गडबडी ल्याइरहेका हुन्छन् । महिनावारीको बेलामा तथा गर्भावस्थामा महिलाको शरीरमा सेरोटोनिन हर्मोनको मात्रा घटबढ हुन्छ, जसले भावनात्मक र शारीरिक परिवर्तन हुने मनोविद् गृष्मा पनेरु बताउँछिन् ।

‘महिलाको शरीरमा समय समयमा हर्मोनल परिवर्तन हुन्छ, जसले गर्दा महिलाको मुड पनि परिवर्तन हुन्छ,’ उनी भन्छिन् ।

मनोविज्ञका अनुसार मन र समाजको एकदमै ठूलो नाता हुन्छ, जसलाई मनोसामाजिक भनिन्छ । हामी कस्तो वातावरणमा बसिरहेका छौं, त्यसले पनि मुड परिवर्तन गर्छ । तर विशेष महिलाहरूलाई भने हर्मोन परिवर्तनको कारणले नै यस्तो समस्या देखिन्छ । जीवनको विभिन्न समयमा महिलाको शरीरमा उथलपुथल हुन्छ । महिनावारी, गर्भावस्था, स्तनपान र महिनावारी सुक्ने बेलामा उनीहरूको शरीरमा विभिन्न हर्मोनको परिवर्तन हुन्छ, जसले गर्दा पनि उनीहरू सानो कुरामा रिसाउने र सानो कुरामा खुसी हुने पनेरु बताउँछिन् ।

महिलाहरूको मुडमा छिटो परिवर्तन आउने मुख्य कारण हर्मोनल परिवर्तन नै भएको प्रसूति तथा स्त्रीरोग तथा विशेषज्ञ डा. विशाल खनिया बताउँछन् । ‘महिनावारी, गर्भावस्था, स्तनपान र महिनावारी सुक्ने बेला महिलामा धेरै शारीरिक र मानसिक परिवर्तन हुन्छ,’ उनी भन्छन्, ‘जसले गर्दा महिलाहरूमा धेरै मुड परिवर्तन हुन्छ । यस्तो परिवर्तन पुरुषमा नहुने भएकाले उनीहरूको मुड भने स्थिर हुन्छ ।’

महिनावारीको कारण

महिलाहरूमा हुने मुख्य हर्मोन ‘एस्ट्रोजेन’ र ‘प्रोजेस्टेरोन’ हुन् । यी हर्मोन महिलाको अण्डाशयमा उत्पादन हुन्छन्, जसले प्रजनन् अंगको वृद्धिमा ठूलो भूमिका खेल्छ ।

महिनावारीका बेला अण्डाशयमा एस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोन बढी उत्पादन हुन्छ । यसले गर्भाशय बाक्लो बनाई शरीरलाई प्रजननका निम्ति तयार गर्छ । अण्डाशयमा उत्पादन भएका अण्डाहरु उर्वर भएनन् भने एस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोनको मात्रा घटबढ हुन्छ । जसले गर्दा महिनावारीको समयमा महिलामा मुड परिवर्तन हुने मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा. विनय भट्टराई बताउँछन् ।

‘मुड परिवर्तन भइरहने समस्या महिनावारी सुक्ने बेला ४० देखि ४५ वर्षको उमेरका महिलामा बढी देखिन्छ,’ उनी भन्छिन् ।

शरीरमा एस्ट्रोजेन हर्मोनको मात्रा घट्दा यसले सेरोटोनिनको स्तरमा असर पार्छ । सेरोटोनिन भनेको मस्तिष्कमा हुने एक किसिमको रसायन हो, जसले मान्छेको मुड, सामाजिक व्यवहार, निद्रा, भोक, स्मृति, पाचन शक्ति आदिमा असर गर्छ । त्यसैले जब सेरोटोनिनको मात्रा असन्तुलित हुन्छ, महिलाको भावनात्मक र शारीरिक व्यवहारमा नौलो परिवर्तन आउने पनेरु बताउँछिन् ।

गर्भावस्थामा पनि हर्मोनल परिवर्तन हुन्छ

विवाहित तथा अविवाहित दुवैमा यस्ता समस्या देखिन्छ । तर विवाहित महिलाहरूलाई भने यसले अलि बढी असर गरिरहेको हुन्छ । महिला विवाहित छिन् र उनको मुड परिवर्तन भएर उनी रिसाइन्, झर्किन् भने श्रीमान् तथा परिवारका अन्य सदस्यले उनको समस्या बुझ्न सक्दैनन् । रिसाउनुको कारण नै नखोजी महिलालाई नै त्यसको दोषी देख्ने गरिएको पनेरु बताउँछिन् ।

गर्भावस्था तथा डेलिभरीपछि झन् केही महिलामा ‘पोस्टपार्टम डिप्रेसन’ पनि देखिन्छ । यो समस्या भएका गर्भवती महिलाले एकदमै असामान्य व्यवहार देखाउन थाल्छन् । बच्चालाई वास्ता नगर्ने, आफूलाई नै पनि वास्ता नगर्ने, झर्को मान्ने र छिटो रिसाउने जस्ता व्यवहार देखाउँछन् । नौ महिनासम्म महिनावारी भएको छैन, शरीरमा धेरै परिवर्तन भएको छ । जसले गर्दा महिलामा ‘पोस्टपार्टम डिप्रेसन’हुन्छ भन्ने धेरैलाई थाहा नै नभएको पनेरु बताउँछिन् ।

कुनै पनि महिला गर्भवती हुँदा प्रोजिस्टोन भन्ने हर्मोनको लेबल एकदमै बढी छ र डेलिभरीपछि प्रोजिस्टोनको लेबल स्वाट्टै झ¥यो भने ‘पोस्पार्टम डिप्रेसन’, ‘पोस्टपार्टम साइकोसिस’ जस्ता समस्या देखिन सक्छन् । ‘एक्लै हुँदा र बच्चा भएपछि उसको व्यवहारमा नै परिवर्तन आउन थाल्छ । निद्रा बिग्रिंने, बच्चालाई बेलाबेलामा दूध खुवाइरहनुपर्ने र आफूलाई भन्दा धेरै समय बच्चालाई दिंदा उनीहरूको वस्तु स्थिति परिवर्तन र हर्मोनल परिवर्तन हुन्छ । त्यसकै कारण कसैलाई डिप्रेसन, साइकोसिस जस्ता समस्या पनि देखिन सक्ने डा. खनियाँ बताउँछन् ।

‘स्तनपान गराउने बेला पनि हर्मोनको कारणले नै दूध आउने भएकाले हर्मोनको मात्रा घटबढ हुँदा दूध नै नआउने पनि हुन्छ,’ खनियाँ भन्छन्, ‘कुनै पनि व्यक्तिले म तनाव लिन्न भन्दाभन्दै पनि उसलाई धेरै तनाव भइरहेको हुन्छ ।’

महिलाहरूमा पनि हर्मोनल कारण र विभिन्न परिस्थितिको कारण यस्ता समस्या देखा परिरहेको हुने उनी बताउँछन् । ‘उनीहरूले नचाहँदा नचाहँदै पनि यस्तो समस्या देखिन सक्छ । यो समस्या १५ प्रतिशत महिलालाई देखिन्छ भने १ देखि ३ प्रतिशतमा भने गम्भीर रूपमा नै देखा पर्छ,’ खनियाँ भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma