Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

शिवराजमा बैंक शिविरमार्फत भत्ता वितरण सुरु

चन्द्रौटा –
कपिलवस्तुको शिवराज नगरपालिकाले बैंक शिविरमार्फत भत्ता वितरण सुरु गरेको छ । ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको सहजताका लागि प्रत्येक वडामा शिविर आयोजना गरिने शिवराज नगरपालिकाका प्रमुख अजय थापाले बताए ।

दोस्रो त्रैमासिकअन्तर्गत सोमवार वडा नं ११ बाट सुरु गर्दै नगर प्रमुख थापाले बैंकमा लाइन लाग्ने वृद्धवृद्धाको बाध्यता हटाएर सबै वडामा पुगेर भत्ता वितरण हुने बताए ।

‘पहिलो चरणमावडा तथा पायक पर्ने ठाउँबाट भत्ता वितरण गरिरहेका छौँ, अशक्तहरूका लागि घरघरमा पु¥याउने योजना छ’‚ थापाले भने‚ ‘जनतासँग गरेको वाचा पूरा गर्न हामी प्रतिबद्ध छौं ।’ थापाले नगरका अभिभावक भनेको वृद्धवृद्धा रहेकाले सम्मान गर्ने बताए ।

शिविरका अवसरमा उपप्रमुख शिवकुमारी थारूले बैंकमार्फत वितरण गर्दा झन्झटिलो र लाइनमा बस्दा वृद्धवृद्धाको स्वास्थ्यमा समेत असर पर्ने देखिएकाले शिविर आयोजना गरिएको बताइन् ।

नगरवासीलाई कसरी सहजता मिल्छ भन्ने विषयमा नगरपालिका गम्भीर रहेको जिकिर गर्दै शिविरमा छुटेका व्यक्तिहरूलाई बैंकमार्फत उपलब्ध हुने बताइन् ।

बैंकसम्म पनि जान नसक्ने व्यक्तिका लागि लक्षित गरेर शिविर आयोजना गरिएको वडा नं ११ का अध्यक्ष रामेश्वर बर्माले बताए ।

सोमवार नै वडा नं १ मा पनि शिविर आयोजना गरेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । वडाका ज्येष्ठ तथा अशक्तलाई शिविरले धेरै सहज गराएको वडा नं १ का अध्यक्ष खिमविक्रम केसीले बताए । बैंक आवतजावत गर्दा लाग्ने समय र खर्चको समेत बचत भएको केसीले बताए । गाउँघरमै भत्ता पाइन थालेपछि सेवाग्राही हर्षित छन् ।

शिवराज नगरपालिकाले दोस्रो चौमासिकमा रु. ६ करोड रकम सामाजिक सुरक्षाभत्ता निकासा गरेको छ । नगरमा १२ हजार ८२० सेवाग्राही रहेका छन् ।

नगरमा रहेका ११ वटा वडालाई ११ वटा बैंकसँग सहकार्य गरेर शिविर आयोजना गरिएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका प्रमुख दीपक खड्काले बताए । प्रत्येक वडामा दुई दिन शिविर आयोजना गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma