Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

कपिलबस्तुमा फागुन ११ बाट हात्तीपाइले रोग बिरुद्धको औषधी खुवाइदै

कपिलबस्तु –

कपिलबस्तुमा फागुन ११ गतेबाट हात्तिपाइले रोग विरुद्धको औषधी खुवाइने भएको छ । सबैले औषधी सेवन नगर्दा कपिलबस्तुमा हात्तीपाईले रोग बिरुद्धको औषधी खाने अभियान १५ औं पटक संचालन गरिने स्वास्थ्य कार्यालय कपिलबस्तुले जनाएको छ ।

कपिलबस्तु सहित नेपालमा गतबर्षबाट हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रममा तीनथरिका औषधी खुवाइदै आएकोमा सोहि अभियानलाई निरन्तरता दिइएको छ । आर्थिक बर्ष २०६३/६४ देखि सुरु भएको अभियानको पाँचबर्षमा अभियान सफलतोन्मूख रहेतापनि त्यसपछिका अभियानहरु लक्ष्य भेटाउन असफल भएको तथ्यांक रहेको छ ।

२०६९ को पाँचौ चरणमा ०.८३ प्रतिशत, २०७० को छैठौं चरणमा ४.७५ प्रतिशत, २०७२ को आठौंं चरणमा १३ प्रतिशत र २०७४ को दशौं चरणमा १२.५ प्रतिशत आम औषधी सेवनबाट छुटेको तथ्यांकमा देखिन्छ ।

हात्तीपाइलेका कारण कपिलबस्तुमा हाईड्रोशिल भएका १ सय ८५, खुट्टा सुन्निएका १ सय ३२ र हाइड्रोशिलसँगै खुट्टा सुन्निएका १४ गरि ३ सय ३१ जनामा संक्रमण रहेको स्वास्थ्य कार्यालय कपिलबस्तुका भेक्टर कन्ट्रोल निरिक्षक उदयचन्द्र चौरसियाले बताए ।

उनका अनुसार २ बर्ष मुनिका बालबालिका, गर्भवती, औषधी खान नहुने समूहबाहेक सबैलाई औषधी खुवाइँदै छ । कार्यक्रम अन्तर्गत ६ सय भन्दा बढि स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेवक ११ सय ७ जना खटिने स्वास्थ्य कार्यालय कपिलबस्तुले जनाएको छ ।

औषधि सेवनवाट हुने सामान्य (अवान्छीत) केहि असरहरु देखीएपनि डराउनु नपर्ने इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. शशी कंडेलले बताए । ज्वरो आउने, टाउको दुख्ने, रिङ्गाटा लाग्ने, वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, जस्ता सामान्य असरहरु देखिन सक्दछन् । यस्तो अवस्था भएमा औषधि खाने व्यक्तिहरुले आफूमा हात्तिपाईले रोगको परजिवी भएको भन्ने वुझ्नुपर्दछ तर यस्तो भएमा विना उपचार यस्ता असरहरु १–२ दिनमा आफै ठिक भएर जानेछ, उनले भने ।

हात्तीपाइले रोगबाट वच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्ण रुपमा निको हुनुको लागि यो रोगको जोखिम भएका कपिलबस्तु सहित सम्पूर्ण जिल्लाहरुमा राष्ट्रिय राष्ट्रिय आम औषधि सेवन कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

जिल्लामा यो अभियानमा सार्थक रुपमा सहभागी नहुने र औषधी खान नमान्ने कर्मचारीहरुलाई तुरुन्तै कारवाहीको दायरामा ल्याउनु् पर्ने जिल्ला समन्वय समितीका प्रमुख बाबुराम आचार्यले बताए । यो बर्ष अनिवार्य रुपमा औषधी सेवन अभियानलाई सफल बनाउन सबै लाग्नुपर्नेमा उनले जोड दिएका छन् ।

गएको बर्ष कपिलबस्तुमा ९० प्रतिशत जनताले मात्रै औषधी खाएपछि अभियानलाई लम्व्याउनु परेको स्वास्थ्य कार्यालय कपिलबस्तुका प्रमुख अनिरुद्ध श्रीवास्तवले बताए । शिक्षित भनिएका व्यक्तिहरुले नै औषधी नखाईदिदा समस्या आएको कार्यालयको भनाई छ । औषधीको समान्य असरको ठूलो हल्ला चल्दा पनि औषधी खानेहरु कम भएको देखिएको छ । कुनै व्यक्तिलाई सामान्य समस्या देखिए पछि अन्य कसैले पनि औषधी खान नमानेको स्वाथ्यकर्मी बताउछन् ।

आम औषधी अभियान २०७९ अन्र्तगत यसबर्षदेखि तीन प्रकारका औषधीको सेवन गर्नुपर्ने इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनक अधिकारीले बताए । नयाँ औषधीको रुपमा आइभरमेक्टाइन्लाई सेवन गर्न स्वास्थ्यकर्मीहरुले आमजनतामा आग्रह गरेका छन् ।

६ बर्षसम्म खानुपर्ने औषधीलाई २ बर्षमै झार्न, औषधीको प्रभावकारिता बढाउन, परजिवीको वयस्क र बच्चा दुबैलाई मार्न, औषधीको साइड इफेक्ट कम गर्न यसवर्षदेखि सेवन गर्ने नयाँ औषधीको प्रभावकारिता रहेको स्वास्थ्यकर्मी बताउँछन् । आइभरमेक्टाइन औषधीको सेवनले हात्तीपाइले बाहेकका अन्य रोगहरु जस्तै लुतो, जुम्रा, मलेरिया जस्ता रोगहरु बिरुद्ध पनि राम्रो काम गर्ने चिकित्सकको भनाइ छ ।

स्वास्थ्य कार्यालय कपिलबस्तुले तौलिहवामा आयोजना गरेको हात्तीपाइले रोग बिरुद्धको औषधी खुवाउने अभियान सम्बन्धी जिल्ला स्तरीय योजना तर्जुमा गोष्ठीमा दिइएको जानकारी अनुसार, तीन थरीका औषधी खुवाउने भएकाले यसपाली व्यक्तिको उचाईको आधारमा औषधीको मात्रा निर्धारण गरिनेछ । यसअघिका अभियानमा दुई थरीका औषधी थिए र उमेरका आधारमा औषधीको मात्रा छुट्याइन्थ्यो ।

महिला स्वास्थ्य स्वयंसेविका या स्वास्थ्यकर्मीले औषधीको तथ्यांकलाई आधार बनाउदा कभरेज देखिने तर वास्तविक खाने मान्छे कम हुने गरेको सम्बद्धहरुको भनाई छ । खानेले खाइरहने र नखानेले खादै नखाइदिंदा हात्तीपाइले रोगविरुद्धको अभियान असफल हुँदै आएको छ ।

गोष्ठीमा इपिडिमियोलोजी तथा रोग निवारण महाशाखाका डा. शशी कंडेल, जनक अधिकारी, लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका फोकल पर्सन खिमलाल पाण्डे, कपिलबस्तुका स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुखको सहभागिता रहेको थियो । गोष्ठीमा विभिन्न व्यक्तित्वहरुले प्रस्तुती गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma