
बुद्धभूमि नगरपालिका–९ इमिलियास्थित माध्यमिक विद्यालयमा अध्ययनरत ६ वर्षीया छात्रामाथि शिक्षिकाले कुटपिट गरेको घटनाले विद्यालय क्षेत्र स्तब्ध बनेको छ । गृहकार्य नगरेको भन्दै युकेजीमा अध्ययनरत छात्रा सलिना बेल्बासेलाई शिक्षिका अन्जु पौडेलले कक्षा कक्षमै कुटपिट गरेको अभिभावकले आरोप लगाएका छन् ।
बालिकाकी आमा सरिता बेल्बासेका अनुसार शिक्षिकाले छोरीलाई यति कडा रुपमा पिटिन् कि पिठ्युँमा नीलडाम बसेको र सुन्निएको छ ।
आमाले रुँदै भनिन्, “मेमले पिट्दा शरीरभरि दुखिरहेको छ भनेर छोरी रोइरहेकी छे ।” उनले विद्यालयका प्रधानाध्यापक दिनेश खनाललाई घटनाबारे जानकारी गराउँदा समेत बेवास्ता गरेको आरोप लगाइन् ।
बालिकाको उपचारका लागि परिवारले उनलाई शिवराज नगरपालिका–३ खरेन्द्रपुरस्थित छायाँ पोलिक्लिनिक अस्पताल लगिएको छ, जहाँ एक्स-रे तथा उपचारपछि मांसपेशीमा चोट लागेको छ ।
आमाको भनाइअनुसार विद्यालय प्रशासनलाई घटनाबारे जानकारी गराइएको छ र दोषी शिक्षिकामाथि कडा कारबाहीको माग गरिएको छ ।
यता विद्यालयका प्र अ दिनेस खनालले बाहिर ल्याए जस्तो घटना नभएको दावी गरेका छन । सिसिटिभी क्यामरा हेर्न सकिने बताउदै सामान्य कुरालाइ बदनाम गराउने गरि अतिरन्जित गरेको जिकिर गरे । उनले विद्यार्थी अभिभावक र शिक्षक सग छलफल गरिने बताए ।


प्रतिक्रिया