Developed By Kuldeep Sharma

१ महिना अगाडि

दशौ चन्द्रौटा महोत्सवको तयारी पुरा

चन्द्रौटा उद्योग वाणिज्य सङ्घको आयोजनामा पुस १३ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने दशौँ चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला–२०८२को सम्पूर्ण तयारी पूरा भएको छ।

“कृषि, उद्योग, व्यापार र पर्यटनलाई प्रोत्साहन, आन्तरिक उत्पादन र स्वरोजगार हाम्रो अभियान” भन्ने मूल नारासहित आयोजना हुन लागेको मेलालाई भव्य र व्यवस्थित बनाउने गरी तयारी सम्पन्न गरिएको महोत्सव मूल आयोजक समितिले जनाएको छ। स्टल निर्माण, मञ्च व्यवस्थापन, विद्युत्, खानेपानी, सरसफाइ, सुरक्षा तथा दर्शक व्यवस्थापनका सबै काम पुरा भएको आयोजकले आज पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ।

महोत्सव मूल आयोजक समिति संयोजक तथा चन्द्रौटा उद्योग वाणिज्य सङ्घका अध्यक्ष ईश्वरीप्रसाद पाण्डेले मेलाको तयारी पूरा भइसकेको जानकारी दिँदै स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योग र क्षेत्रका पर्यटकीय सम्भावनाको प्रचार–प्रसार मुख्य उद्देश्य रहेको बताउनुभयो।  भोलि देखि सुरु हुने महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने तयारी  भएको उहाँले जानकारी  गराउनु भयो।

उहाँले महोत्सव सफल बनाउन स्थानीय सरकार, संघ–संस्था, व्यवसायी र आम नागरिकको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जमसेर अलि मियाँले यस्ता मेलाले स्थानीय उत्पादनको बजारीकरण, स्वरोजगार प्रवर्द्धन र आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। नेपाल पत्रकार महासङ्घ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले महोत्सवलाई सफल बनाउन सञ्चार माध्यमको सक्रिय भूमिका रहने बताउँदै स्थानीय संस्कृति, उत्पादन र सम्भावनालाई उजागर गर्न पत्रकारिता सधैँ साथमा रहने धारणा व्यक्त गर्नुभयो।

महोत्सवका आकर्षणका रूपमा लन्डन ब्रिज, जलपरी, आइफेल टावर, पिङसहितका विभिन्न बालउद्यान, कृषि, उद्योग र व्यापारसँग सम्बन्धित स्टलहरू, स्थानीय उत्पादनको प्रदर्शनी, खाद्य मेला, पर्यटन प्रवर्द्धन कक्ष तथा राष्ट्रिय र स्थानीय कलाकारहरूको सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार यस महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन, स्वरोजगार सिर्जना तथा कपिलवस्तु क्षेत्रको समग्र आर्थिक गतिविधिमा उल्लेखनीय टेवा पुर्‍याउने विश्वास लिइएको छ। आयोजकले सबैलाई महोत्सवमा सहभागी भई सफल बनाउन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma