कपिलवस्तु(चन्द्रौटा) २१,कार्तिक
कपिलवस्तुको शिवराज नगरपालिकाले कृषकहरुलाई प्रोत्साहन गर्ने गरी कार्यक्रमहरु संचालन गरेको छ । गत आर्थिक वर्ष २०७६।७७ मा नगर भित्रका १८४ जना कृषकलाई अनुदान बितरण गरिएको छ भने ४ हजार साना किसानहरुलाई विभिन्न बिउबिजन बितरण गरिएको छ । युवाहरुलाई नगरमै स्थापित गराउने उद्देश्य स्वरुप कृषिका कार्यक्रमहरु तय गरिएको नगरप्रमुख नेत्रराज अधिकारीले बताउनुभयो । प्रत्येक वर्ष कृषिलाई प्राथमिकता दिएर कार्यक्रम संचालन गरेको भन्दै कृषकले मेहनत गरे नगरले सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो ।
गत वर्ष साना सिचाई मार्फत रु २७ लाख ५० हजारको लागतमा ५२ जना कृषकहरुलाई पम्पसेट,२७ जनालाई मोटर,३ जनालाई बोरिङ बितरण गरिएको हो । स्मार्ट कृषि गाउँ उमरीका २६ जना कृषकलाई रु ४ लाख ९५ हजारको लागतमा पावरलीटर १ थान,रिपर १ थान,हैण्डस्वीपर ४ थान र महचीङ्ग पलाष्टीक २० थान बितरण गरिएको कृषि शाखा प्रमुख ताराचन्द चौधरीले बताउनुभयो ।
त्यस्तै प्रदेश सरकार मार्फत कोभिड १९ प्रभावित ७२ जना कृषकलाई नगद रु २० हजारका दरले रकम अनुदान स्वरुप बितरण गरिएको छ । प्रदेश सरकारले बिदेशबाट आएका युवाहरुलाई लक्षित गरि संचालन गरेको उक्त कार्यक्रमले कृषकलाई सहज भएको नगरको बुझाई छ । एक वर्षको अवधिमा ४ जना मौरीपालक किसानलाई रु २ लाख ६० हजारको लागतमा १२२ थान मौरीका घार र १९८ थान मौरी सामाग्री बितरण गरिएको शाखा प्रमुख चौधरीले बताउनुभयो ।
पालिकाले नगरका साना कृषकहरुको लागि लक्षित गरि विभिन्न बिउबिजन बितरण गरेको छ । १९७५ जना कृषकलाई प्याजको बिउ,सोनवर्षिका ३६ कृषक लाई मलखाद विषादी र स्प्रे, ४७५ जनालाई आलुको बिउ,२८७ जनालाई मकैको बिउ,१०३७ जनालाई धानको बिउ,१०९ जनालाई गहुँको बिउँ निशुल्क बितरण गरिएको कृषि शाखाले जनाएको छ । नगरबाट पाउने अनुदानमा अनियमितता हुन नदिन नगरले प्रभावकारी अनुगमन गरेको नगर उपप्रमुख शिवकुमारी थारुले बताउनुभयो । उपप्रमुखको संयोजक्त्वमा हुने अनुगमनले अनुदानमा कृषकहरु नदोहोरीने गरी छनोट हुने गरेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया