चन्द्रौटा,२४ मंसिर
लुम्बिनी प्रदेशकै नमुना स्थानिय तहमा बिजयनगर पर्ने देखिएको छ । कृषिमा फड्को मार्दै प्रदेशले भैसी विकास स्रोतको रुपमा बिजयनगरलाई छनोट गरेको छ । लुम्बिनी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कृषि क्षेत्र बाट प्रदेश आत्मनिर्भर बन्ने बताउनुभयो । प्रदेशका नागरिकहरुले व्यावसायिक रुपमा कृषि पेशा गरेमा आत्मनिर्भर बन्न धेरै समय नलाग्ने जनाउनुभयो । भैसी विकास स्रोत केन्द्रको शुभारम्भ गर्न कपिलवस्तुको बिजयनगर पुग्नुभएकी मन्त्री पौडेलले बिजयनगर बासीले भैँसी पालनबाट राम्रो आम्दानी गर्न सक्ने बताउनुभयो । प्रदेश सरकार अहिले किसान खोज्दै गाउँ गाउँ पुगेको बताउँदै विकट क्षेत्रका नागरिकहरु अब व्यावसायिक बन्नुपर्नेमा जोड दिनुभयो । नेपालीहरुको जागिरे मानसिकता त्यागेर उद्यमी बन्ने सोच राखेर मालिक बन्नुपर्ने जनाउनुभयो ।
किसानले उत्पादन गरेका सामाग्रीको मुल्य अहिले सम्म व्यापारीले तोक्ने गरेकोले अब प्रत्येक तहमा सहकारी स्थापना गरी सहकारी मार्फत किनबेच गर्ने व्यवस्था मिलाउने तयारी प्रदेश सरकारले गरेको बताउनुभयो । “साना किसानहरुको लागि घुम्ती पसल संचालनमा गरी किसानले आफै उपभोक्तालाई विक्री गर्नेछन्,पौडेलले भन्नुभयो “काम गर्ने किसानलाई उत्पादनको आधारमा अनुदान दिने छ, ढुक्क भएर काम गर्नुहोस, ।” ऋण लिएर कृषि पेशा गर्ने किसानको बैक ब्याज प्रदेश सरकारले तिरिदिने भएकोले बिदेश बाट फर्केर आएका युवाहरुले देशमै पेशा गर्न सुझाव दिनुभयो । जग्गा नभएका नागरिकहरुलाई मध्यनजर गरेर जग्गाको भाडा प्रदेश सरकारले तिरिदिने व्यावस्था रहेको उहाँले बताउनुभयो ।
बिजयनगर गाउँपालिकाको डालपुर र नौरङ्गियाका नागरिकहरुले बर्षौ देखि भैसीपालन गर्दै आएपनि त्यसलाई व्यावसायिक बनाउन नसकेको जनाउनुभयो । गाउँमा पटक पटक निरिक्षण गरेर सरकारले छनोट गरेको गाउँ रहेकोले अब यहाँका नागरिकहरुमा समृद्धिको समय आएको बताउनुभयो । कार्यक्रममा प्रदेश सभा सदस्य बिरेन्द्र कनौडियाले बिजयनगर गाउँपालिकाका नागरिकहरुको लागि अवसर प्राप्त भएको बताउनुभयो । अवसरलाई सदुपयोग गरेर गाउँमै स्वरोजगार बन्न आग्रह गर्नुभयो ।गाउँपालिकाका ८० प्रतिशत भन्दा बढी नागरिकहरुको कृषि पेशा गर्ने भएपनि आकाशे पानीको भरपर्ने बाध्यता रहेको बताउनुभयो ।
प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले बिजयनगरको डालपुर र नौरङ्गियाका नागरिकहरुले भैसी पालन गरेर उत्पादन गरेको दुध देशको सबै ठाउँमा पु¥याउनुपर्ने बताउनुभयो । नमुना भैसी विकास केन्द्रको रुपमा विकास गर्न आग्रह गर्दै बजार ब्यावस्थापनमा समस्या हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।
प्रादेशिक योजना आयोगका उपाध्यक्ष डा ईश्वर गौतमले भैसी विकास स्रोत कार्यक्रमले स्थानिय नागरिकहरुलाई स्वरोजगार बनाउने बताउनुभयो ।उहाँले स्थायिनहरुदाई देशको नमुना बनाउने उद्देश्यले काम गर्न आग्रह गर्नुभयो । सुरुको चरणमा ६० घरपरिवारमा ५ वटा समुह निर्माण गरी ५ सय भैसी पालनको योजना रहेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव रेवतीवरण पौडेलले बताउनुभयो । यो चरणमा नश्ल सुधार,गोठ सुधार,पशु आहारा लगाएतका काम हुनेछन् । रु ३ करोड ८ लाखको लागतको उक्त कार्यक्रममा २० प्रतिशत विजयनगर गाउँपालिका,३० प्रतिशत स्थानिय नागरिक र ५० प्रतिशत तथा १ करोड ५४ लाख प्रदेश सरकारको लगानी रहने छ ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गोपाल थापाले प्रदेशकै उत्कृष्ट कार्यक्रममा बिजयनगर पर्नु खुसिको कुरा रहेको बताउनुभयो । परम्परा देखिनै भैसी पालन गरेका स्थानियहरुलाई सरकारले सहयोग गरेर व्यवासयिक रुपमा विकास गराउनु भनेको गाउँपालिका समृद्धको दिशामा लाग्नु रहेको बताउनुभयो । भैसी स्रोत केन्द्र कार्यक्रमलाई गाउँपालिकाले पुर्ण रुपमा सहयोग गरी पालिकाबासीले आत्मनिर्भर बनाउने प्रतिबद्धता जनाउनुभयो ।
प्रतिक्रिया