काठमाण्डाै – नेकपा एमालेले दशाैँ महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । बिहान बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले आउँदो बुधवार १६ गते आयोजक कमिटी बैठक बस्ने निर्णय गरेको हो ।
आजको बैठकमा नेता माधवकुमार नेपाल पक्ष विपक्षी गठबन्धनमा लागेकोबारे पनि छलफल भएको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । बैठकको निर्णयबारे जानकारी गराउँदै प्रवक्ता ज्ञवालीले पछिल्लो राजनीतिक अवस्था, कोरोना महामारी नियन्त्रण र राष्ट्रिय राजनीतिबारे समेत छलफल भएको बताउनुभयो ।
एमालेको खनाल–नेपाल समूहले पार्टी एकताका लागि २०७५ जेठ २ को अवस्थामा पार्टी कमिटीको बैठक बोलाउनुपर्ने माग गरिरहेको छ । तर अध्यक्ष केपी शर्मा ओलीले भने दशाैँ महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउनुभएको हो । सर्वोच्च अदालतलेसमेत आयोजक कमिटीलाई नचिन्ने भन्दै कमिटीले गरेको कारबाहीको निर्णय वैधानिक नहुने अन्तरिम आदेश दिइसकेको छ ।
प्रतिक्रिया