Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

अध्यक्ष थापाको ढृढ संकल्प र बलियो आत्म विश्वासले फेरिएको गाउँपालिका


दुर्गम विजयनगर सुगम बन्दै
दिपक के.सी.
कपिलवस्तु असार १८
केहि बर्ष अगाडी जिल्लाकै दुर्गम स्थानिय तह भनेर चिनिएको विजयनगर गाउँपालिका सुगम बन्दै गएको छ । मानव सुचांकमा समेत पुछार रहेको गाउँपालिका विकासोन्मुख बन्दै गएको छ । छोटो समयमा गाउँपालिकाले विकासको पथमा फड्को मारेको छ ।
स्थानिय तहको निर्वाचन पछि आएका गाउँपालिका प्रमुख र जनप्रतिधिहरुको सक्रियताले पालिका विकासको पथमा अग्रपंक्तिमा रहेको छ । सिमित स्रोत र साधनका वावजुद पनि पालिका अध्यक्ष गोपाल थापाको उच्च मनोबल र विकास प्रतिको लगावका कारण गाउँपालिका दुर्गमबाट सुगम बन्दै गएको छ । जिल्लाको पश्चिम क्षेत्रमा रहेको पालिका विगत केहि बर्ष अगाडी सडक विस्तार नभएका कारण जोकोहि जान पनि हिचकाउने गर्थे । निर्वाचित भएको पहिलो बर्षमा नै दुई पालिका जोड्ने र गाउँपालिको मुख्य सडक हल्लानगर त्रिपालनगर जोड्ने सुरहि नदिमा पुल बने पछि गाउँपालिकाका नागरिकहरु पूर्व पश्चिम राजमार्ग संग सहज पहुँच पुग्यो । बर्षायाममा सुरहि नदि तर्न नसक्दा बजार संग सम्पर्क नै रहदैनथ्यो, बर्षा नलाग्दै आवश्यक खरिदारीका काम गरिसक्नु पथ्र्यो , जोखिम मोलेर नदिमा हेलिदाँ धेरैको ज्यान गएको थियो त्रिपालनगरका शेर बहादुर विश्वकर्माले बताए ।
बर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने सडक अहिले कालोपत्रे भएका छन । त्रिपालनगर हुदै प्रेम नगर भटनी पुग्ने सडक स्तर उन्नती कालो पत्रे भएका कारण आवतजावतमा सहजता भएको छ । हिलाम्मे र धुलाम्मे सडकले गर्दा यात्रामा पर्ने कठिनाइका कारण खासै कोहि नपुग्ने गाउँपालिकामा अहिले जिल्लाकै सहज पहुँच भएको छ । गाउँपालिका कार्यालय सम्म नै कालो पत्रे सडक बनेको छ । धेरै बर्ष देखि अलपत्र परेको आरटिओ सडक खण्ड अध्यक्ष थापा कै पहल र सक्रियतामा निर्माण सम्पन्न भइ, लुम्बिनी प्रदेशका मुख्यमन्त्रिबाट उद्घाटन भइ संचालनमा आइसकेको छ । आरटिओ सडक सम्पन्न भए संगै गाउँपालिकाको सहज पहुँच दुई ठूला व्यापारीक सहर संग जोडिएको छ । दक्षिणमा कृष्णनगर बजार र उत्तर पूर्वमा रहेको चन्द्रौटा बजार व्यापारी दृष्टिले नागरिकलाई सहजता भएको छ । “सडक नहुँदा बारीमा उत्पादन भएका तरकारीले बजार पाउदैनथ्यो बारीमा नै कुन्थ्यो , अहिले आरटिओ सडक बनेपछि, बजार नजिक भएको छ , कृषि उपजले बजार पाएको छ ” स्थानिय रामभरोसे यादवले भने ।
शिक्षा, स्वास्थ्य ,सडक सिचाइ, खानेपानी जस्ता आधारभूत आवश्यताहरुबाट समेत गाउँपालिकाका नागरिकहरु बन्चित थिए, चुनावमा उम्मेदरवार बनेर प्रचार प्रसारमा गाउँ—गाउँ पुग्न नै समस्य थियो । त्यति बेला नै मैले सडकको पहुँच सबै गाउँमा पुराउने अठोट लिएको थिए, सोहि अनुसार नै काम गरिरहेको छु गाउँपालिका अध्यक्ष थापाले बताए । सडक निर्माण संगै खानेपानि ,स्वास्थ्य , शिक्षा कृषि क्षेत्रमा पनि गाउँपालिकाले हरेक बर्ष ठूलो बजेट खर्च गरेको छ । खर्च भएको बजेट अनुरुप अहिले गाउँपालिकाको प्रत्येक वडामा स्वास्थ्य चौकी भवन निर्माण , पालिकामा रहेका विद्यालयहरुको भौतिक संचरना निर्माण, छात्राहरुका लागि विशेष प्राथमिकता सहित हरेक बर्ष साइकल, शैक्षिक सामाग्री, वितरण गर्दै आएको थापाले बताए ।“ छात्राहरुको विद्यालय छाड्ने दर धेरै थियो । ६÷७ कक्षा पुग्दा पुग्दै छात्राहरुले विद्यालय छाड्ने संख्या ठूलो थियो यो समस्या समाधान गर्न हामीले गाउँपालिकाको तर्फबाट कक्षा ६ देखि माथिका अध्ययन गर्ने छात्राहरुलाई साइकल वितरण सुरु गर्र्यौ अहिले कक्षा छाड्ने दरमा कमि आएको छ ” अध्यक्ष थापाले भने ।
सामान्य विरामी हुदाँ समेत चन्द्रौटा कृष्णनगर धाउनु पर्ने गाउँपालिका बासीको समस्या पनि यहि विचमा केहि हद सम्म समाधान भएको छ । गाउँपालिकाले विरामीहरुलाई उपचारका लागी साप्ताहिक स्वास्थ्य क्लिनीक संचालनमा ल्याएर विरामीहरुको निशुल्क चेकजाँच गर्दै आएको छ । पालिकामा २ वटा वर्थिङ्ग सेन्टर संचालन आइसकेका छन भने एउटा संचालनको तयारी अवस्थामा रहेको छ । प्रदेशकै ठूलो आयूर्वेद अस्पताल पनि गाउँपालिकामा रहेको छ ।
गाउँपालिकामा निर्वाचित जनप्रतिनिधि आइसकेपछि नागरिकको जनजिवनमा प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य शिक्षा र सडकमा उल्लेखिय उपलब्धी भएको स्थानिय युवा अग्नी सापकोटाले बताए । कृषिमा आधारित गाउँपालिका भएकाले कृषिलाई प्राथमिकतामा राखि युवाहरुलाई कृषिमा आर्कषित गर्न विभिन्न अनुदानका कार्यक्रम संचालन गरिएको गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष दिनेश चौधरीले बताए । युवालाई विभिन्न सिपमूलक कार्यक्रम संचालन गरी व्यवसायिक बनाउन हरेक बर्ष सिपमूलक तालिमहरु संचालन गरिरहेको चौधरीले बताए । हरेक आर्थिक बर्षमा महिलाहरुको सिप विकास गराई उनीहरुलाई व्यवसायिक बनाउन गाउँपालिकाले सहयोग गर्दै आएको गाउँपालिका उप प्रमुख लक्ष्मी कुमारी चौधरीले बताइन ।
विगतका दिनमा गाउँपालिका कार्यालय सम्म पुग्न समेत नागरिकले सास्ती खेप्नु पथ्र्यो अहिले पालिका भित्रका नदिहरुमा पक्कि र झोलुङ्गे पुलहरु निर्माण भएका छन । नालाहरुमा कलर्भट निर्माण भएका छन, अब नागरिक जोखिम मोलेर नदि तर्नु पर्ने बाध्यता हटेको छ वडा नं. ५ का वडा अध्यक्ष अनवर मुसलमानले बताए । गाउँपालिकाले मुस्लिम छात्राहरुको लागी १ करोड बढि लागतमा गल्र्स कलेज निर्माण गरेको छ । नेउलागन्ज र जवाबैराठ जोड्ने नदिमा पक्कि पुल करिब ४ करोड बढिको लागनिमा निर्माण हुन लागेको प्रमुख प्रशासकिय अधिकृत गोविन्द भट्टराईले बताए ।
बलियो इच्छा शक्ति र जनताको लागी काम गर्छु भन्ने अठोट भएमा परिर्वतन गर्न सकिन्छ भन्ने गतिलो उदाहरण अहिले जिल्लाको विजयनगर गाउँपालिका बनेको छ । पालिकाको सबै गाउँमा बत्तिको पहुँच पुगेको छ । संचारको पहुँचमा नागरिक छन । आवतजावतका लागी सडक पुल बनेछन । कतिपय सडक निर्माण सम्पन्न भइसकेका छन ,केहि अन्तिम चरणमा छन । कच्चि सडकहरुको पनि स्तरउन्नती भएको छ । समग्र पालिकाको विकासमा जनप्रतिनिधीहरुले एक्यबद्धता र सक्रियताले दुर्गम गाउँपालिका अहिले सुगम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma