काठमाण्डाै – नेपाली कांग्रेसको क्रियाशील सदस्यमा देखिएको विवाद समाधानतर्फ देखिएको छ । शुक्रवार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी तथा शीर्ष नेताहरूको बैठकले देशभरिबाट प्रक्रिया पूरा गरेर आएको क्रियाशील सदस्यको नामलाई समावेश गर्ने सहमति जुटाएको हो ।
नेपाली कांग्रेसको क्रियाशील सदस्यको मनोनयनमा नेता अनुकूलको नाम आएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाले एकलौटी नाम सिफारिस गरेर पठाएको भन्दै निष्पक्ष छानबिनकाे माग गर्दै सभापतिलाई दबाब दिँदै आएको थियो ।
आज भएको सहमतिमा नवीकरण हुने क्रियाशील सदस्य र नयाँ सदस्य छनाेटको प्रक्रिया हेरी छानबिन समितिले निर्णय गर्न सक्ने गरी मापदण्ड पनि बनाएको छ । यस्तै विभिन्न पार्टीबाट नेपाली कांग्रेसमा आएकाहरूमा जिल्लादेखि सबै प्रक्रिया पूरा गरेर आएको नाम स्वीकृत गर्ने पनि सहमति भएको छ ।
प्रदेश जिल्ला र वडास्तरमा विवाद नै कायम रहेको क्रियाशील सदस्यको नाममा एक पटक सहमति जुटाउन प्रयास गर्ने सहमति हुन नसके छानबिन समितिले आवश्यक प्रक्रिया र कागजपत्र हेरेर निर्णय गर्न सक्ने पनि बैठकमा सहमति जुटेको छ ।
बैठकपछि बोल्दै क्रियाशील सदस्य छानबिन समितिका संयोजक रमेश लेखकले लामो समयदेखि विवादित बनेको क्रियाशीलसम्बन्धी विषयले निकास पाएको बताउनुभयो । यो निर्णयसँगै क्रियाशील सदस्य छानबिनसम्बन्धी कुनै समस्या नरहेको र केही दिनमा छानबिनकाे काम सम्पन्न गर्न सकिने संयोजक लेखकले जानकारी दिनुभयो ।
महाधिवेशन आउन दुई महिनाभन्दा कम समय बाँकी रहेका बेला कांग्रेसभित्र प्रारम्भिक मतदाता मानिने क्रियाशील सदस्यताको टुङ्गो लाग्न सकेको थिएन । असारभित्र जसरीफ पनि क्रियाशील सदस्यता विवाद टुङ्ग्याइ सक्नुपर्ने दबाबमा रहेको छानबिन समितिले सदस्यता छानबिनबारे मापदण्ड बनाइदिन पार्टी पदाधिकारीलाई आग्रह गरेको थियो । समितिको आग्रहमा बसेको बैठकले सहमति जुटाएपछि छानबिनको काम अगाडि बढ्ने बताइएको छ ।
कांग्रेसमा पुराना क्रियाशील सदस्यमा धेरै विवाद नरहे पनि समितिले अन्य पार्टीबाट आएका र नयाँ क्रियाशील सदस्यको सिफारिसमा विवाद देखिएको बताएकाे छ ।
प्रतिक्रिया