दिपक के.सी.
कलिवस्तु, असार २३
कपिलवस्तुको विजयनगर गाउँपालिकाले हरेक बर्ष नयाँ निति कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । हरेक आर्थिक बर्षमा गाउँपालिकाको गाउँसभाबाट बन्ने निति र योजनाहरु मध्ये केहि योजनाहरुको सिको पछिल्लो समय अन्य स्थानिय तहले पनि गर्दै आएका छन ।
गाउँपालिकाको भौतिक विकास संगै सामाजिक विकास तर्फ गाउँपालिकाका जनप्रतिनिधीले बनाउने नयाँ निति र योजनाले नागरिकको दैनिक जीवनमा प्रत्यक्ष टेवा पुराउदै आएको छ । गाउँपालिकाले आर्थिक बर्ष ०७८÷०७९ मा छोरीको भविष्यका लागि नयाँ निति आबलम्बन गर्ने भएको छ । छोरी बचाउ,छोरी पढाउने भन्ने नारालाई आत्म साथ गर्दै गाउँपालिकाले परिवारमा पहिलो जन्मने छोरीको नाममा बैंक खाता संचालन गरी रु. १५ हजार जम्मा गरिदिने कार्यक्रम ल्याएको छ ।
ग्रामिण क्षेत्रमा छोरीलाई पढाउन र छोरीको भविष्य सुन्दर बनाउन गाउँपालिकाले कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष गोपाल थापाले बताउनु भयो । “परिवारको पहिलो छोरीको खातामा गाउँपालिकाले १५ हजार जम्मा गर्छ र त्यो बच्चाको परिवारलाई पनि अनिवार्य कम्तीमा पाँच हजार वा त्यो भन्दा बढि रकम जम्मा गर्न लगाइन्छ , २० बर्षका लागि फिक्स डिपोजिटमा रकम जम्मा हुन्छ , जसले गर्दा त्यो रकम बढेर लाख सवा लाख पुग्छ छोरी २० बर्ष पुग्दा उच्च शिक्षाका लागि रकम प्रयोग गर्न सकिन्छ ” अध्यक्ष थापाले भन्नु भयो ।
यो कार्यक्रम पैसा संग मात्रै सम्बन्धित नभएर यसले गर्भाअवस्था बाटै आमा र बच्चाको स्वास्थ्य प्रति परिवारको दायित्व बढाउनेछ । गाउँपालिकाले नियमित गर्भावतीले स्वास्थ्य संस्थामा चेकजाँच गरे नगरेको स्वास्थ्य संस्थाबाट जारी रिपोर्ट कार्ड अनिवार्य समेत गरेको छ । जसले गर्दा गर्भाअवस्थामा चेकजाँच गर्नेको संख्यामा बृद्धि हुने गाउँपालिकाले अपेक्षा गरेको छ । गर्भावतिले अनिवार्य बर्थिङ्ग सेन्टरमा बच्चा जन्माउनु पर्ने छ । कार्यक्रम मार्फत, बच्चा जन्मेको ३५ दिनमा नै जन्मदर्ता गराइसक्नु पर्ने व्यवस्था रहेकोले बच्चाको जन्म दर्ता पनि समयमा नै हुने अध्यक्ष थापाले बताउनु भयो ।
मधेशमा महिलाको नागरिकता समयमा नै नबनाउने दरमा यो कार्यक्रमले कमि ल्याउने गाउँपालिका वडा ७ का वडा अध्यक्ष दिनेश चौधरीले बताए । “यो कार्यक्रमबाट जन्मदर्ता अनिवार्य भएपछि,आमाको नागरिकता पनि अनिवार्य हुन्छ जसले गर्दा महिलाको नागरिकता पनि समयमा नै बन्छ ,यसले महिला हिसाँमा समेत न्यूनिकरण ल्याउछ” चौधरी ले भन्नु भयो ।
गाउँपालिकाले पहिलो छोरीको खातामा जम्मा गरिदिने १५ हजारले छोरीलाई उच्च शिक्षा पढाउने भार पनि कम हुने र विहेवारी गर्दा लाग्ने खर्चमा समेत राहत पुग्ने विश्वास गाउँपालिकाले लिएको छ । छोरीलाई नियमित विद्यालय जना र शिक्षा प्रति अर्कषित गर्न गाउँपालिकाले हरेक बर्ष कक्षा ६ भन्दा माथी अध्ययनरत छात्राहरुलाई साइकल ,शैक्षिक सामाग्री , छात्रावृत्ति वितरण गर्दै आइरहेको छ ।
प्रतिक्रिया