काठमाण्डाै – नेकपा एमालेका नेता तथा राष्ट्रिय सभा सदस्य गौतमले सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन गराएर नेकपा माओवादी केन्द्र र नेकपा एमाले बिउँताएकाे अवस्थामा आफूले नेकपा एमाले रोजेर बैठकमा समेत उपस्थिति भएको बताउनुभएकाे छ ।
आइतवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सदस्य गौतमले पार्टी अध्यक्ष ओलीले २०७५ साल जेठ २ गतेको अवस्थामा केन्द्रीय कमिटीको बैठक बोलाएपछि आफू बैठकमा सहभागी भएको स्पष्ट पार्नुभयो । वामदेव केपी ओलीतर्फ गएको भन्ने हल्ला भएको भन्दै उहाँले आफू केपी ओलीतिर नभइ आफू एमाले भएको प्रमाण पेस गर्न बैठकमा गएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मैले केही समय पहिले नेकपा हुँदा खेरी भएको पार्टी विभाजनमा म कतै पनि सामेल हुन पाइनँ, सकिनँ र मलाई मन लागेन । अहिले म नेकपा एमाले पुनर्स्थापित भएपछि मैले एमाले रोज्नै पर्याे । म एमालेको एउटा सदस्य हुँ । जिम्मेवार व्यक्ति पनि हुँ । जिम्मा पाएँ त्यो निर्वाह गर्ने व्यक्ति पनि हुँ । त्यसो भएर म केही समय पहिले पार्टी अध्यक्ष कमरेड केपीले २०७५ साल जेठ २ को अवस्थामा केन्द्रीय कमिटीको बैठक बोलाउनुभयो र म त्यो बैठकमा भाग लिन गएँ । धेरै मानिसले वामदेव केपीतिर गयो भनेर भने । मैले यो सभामार्फत हाम्रो देशका सबै जिम्मेवार राजनीतिज्ञलाई, नागरिकलाई जानकारी गराउन चाहन्छु, म कुनैतर्फ गएको होइन । म नेकपा एमाले भएको हुनाले त्याे प्रमाण पेस गर्न म गएको हो । तर मैले पार्टीमा गइसकेपछि जे भूमिका निर्वाह गर्छु भनेको थिएँ त्यो भूमिका यद्यपि मैले प्राप्त गर्न सकिनँ ।’
राष्ट्रिय सभा सदस्य गौतमले सत्तारुढ नेकपा एमालेले गरेको अराजनीतिक क्रियाकलाप, संविधान र ऐन, नियम कुल्चने क्रियाकलापले नेपाली नागरिककाे शिर निहुँराउने अवस्था सिर्जना गरेको टिप्पणी पनि गर्नुभयो ।


प्रतिक्रिया